मानसरोवर , १२ असोज । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जाने कार्यक्रम छ ।
प्रधानमन्त्री स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्नेछन् । छेन्दुमा प्रधानमन्त्रीले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुुहुने कार्यक्रम रहेको छ ।
त्यसपछि उहाँले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने छन् ।
आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको आयोजना गर्नेछन् । बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट भोली स्वदेश फर्कने कार्यक्रम रहेको छ ।