गण्डकी, ८ असोज । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ ।
प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने छ। “नौ सय बढी प्रतिनिधिले अधिवेशनमा भाग लिनेछन् ।
प्रदेश अधिवेशनमा प्रतिनिधि बनेर आउनका लागि चार केन्द्रीय सदस्यले समेत मनोनयन दर्ता गराएको एमालेले जनाएको छ । केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा र रामशरण बस्नेतले मनोनयन दर्ता गरेका छन् ।
विभिन्न उपसमिति गठन र परिचालन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमालेले जनाएको छ । यही असोज १५ र १६ गते हुने अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रदेश अध्यक्षको आकङ्क्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ । केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वमा आउने चाहना राखेर प्रतिनिधि छनोटका लागि मनोनयन दिएको बुझिएको छ ।
अधिवेशनको १५ गते अमरसिंह चौरमा उद्घाटन र बन्द सत्र असोज १६ गते पोखरा सभागृहमा हुनेछ ।