माघ ७ काठमाण्डौँ । काँग्रेस सांसद रामहरी खतिवडाले गृहमन्त्री रवि लामिछानेले केटाकेटीपन देखाएको गंभीर आरोप लगाएका छन् ।
संसदको आजको बैठकमा संवोधन गर्दै खतिवडाले गृह मन्त्रालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लेखेका पत्र सार्वजनिक गरेकोप्रति आपत्ति जनाएका छन्।
सो विषयमा आपत्ति जनाउँदै सांसद खतिवडाले प्रश्न गरेका छन्, ‘प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने हो भने गोपनियताको हक कहाँ रहने भयो ? ’
साथै, मन्त्रालयले शुक्रबार निकाले उक्त विज्ञप्ति जनतालाई नाटकको रुपमा प्रस्तुत गरेको टिप्पणी गरे्का छन्। ‘जनता र संसदलाई मुर्ख बनाउन नखोजियोस्,’ खतिवडाले चेतावनी दिए ।
‘प्रेस विज्ञप्ति निकालेर खोज्दै जाने परम्पराको सुरुवात भएको छ। यो गृहमन्त्रालयको पदबहाल गर्नुभएका धेरै सांसदहरु यहाँ हुनुहुन्छ,’ सांसद खतिवडाले भने, ‘गृह मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्दै जाने हो भने मुलुक कहाँ जान्छ ? गृहमन्त्री बाल केटाकेटीपनको प्रदर्शन गर्नु भएन ? के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनलाई टेर्न छाडेको हो ? खतिवडाले प्रश्न गरे ।