मंसिर ५, बैतडी । बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा परी घाइते भएका ९ मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुने सबै नेपाली प्रहरीका कर्मचारीहरू रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइते पनि जिप चालक बाहेक सबै नेपाल प्रहरी हुन् ।
३ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख कमलप्रसाद चौधरीले बताए ।घाइते हुनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टीकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र चालक देवराम महर रहेका छन् ।
घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताए । अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उपचाररत नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारका लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । प्रहरी बोकेको से१ज ८५४ नम्बरको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियोे । जिपमा १२ प्रहरी र एक चालक गरी १३ जना सवार थिए ।
घाइते २ जनाललाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । अन्य गम्भीर घाइते लैजानका लागि पनि हेलिकप्टर फेरि आउने उनले बताए ।
दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ को थूममा जिप दुर्घटनामा परेको हो । मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको छ ।
जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।