काठमाडौं, ४ मंसिर। प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनका लागि मतदानको घोषित समय सकिएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई निर्वाचन आयोगले मतदानको समय तोकेको थियो । सोही अनुसार अहिले ५ बजेदेखि मतदानको समय सकिएको हो ।
निर्वाचन आयोगले तोकेको समय अनुसार धेरै ठाउँमा मतदान सकिएको छ भने केही स्थानमा मतदान अझै जारी छ । देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ ।
बिहान ७ बजे नै सञ्चालन हुन नसकेका मतदान केन्द्र, आन्तरिक विवादले केहीबेर मतदान स्थगित भएका केन्द्र तथा ५ बजेभित्र केन्द्र आइपुगेका मतदाताले मत हाल्न नसकेसम्म मतदान जारी रहने आयोगले जनाएको छ ।
बिहान केही समयमा कम मतदान भए पनि दिउँसो त्यो संख्या बढेको थियो । संसदीय निर्वाचनमा स्थानीय निर्वाचनको मतपत्र सहज हुनाले मतदाताहरुले छोटो समयमा आफ्नो मताधिकार प्रयोग गर्न पाएका थिए ।
मतदानको निर्धारित अवधि सकिएपछि मतपेटिकालाई मतगणनास्थलसम्म लगिने छ ।
निर्वाचन आयोगले आइतबार राति ७:५० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।
आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ७५ र समानुपातिकतर्फ १ सय १० तथा प्रदेशसभामा सात प्रदेशको ३३० प्रत्यक्ष र २२० समानुपातिकतर्फ सांसद छान्नका लागि एकै चरणमा मतदाता भएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २४ सय १२ उम्मेदवार रहेका छन् । त्यसैगरी समानुपातिकर्तफ २१ सय ९९ उम्मेदवार रहेका छन् । त्यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ ३३ सय २४ र समानुपातिकतर्फ ३७ सय ८ उम्मेदवार रहेका छन् । १ करोड ७९ लाख ८८ जहार ५ सय ७० मतदाता रहेका थिए ।