कार्तिक ३०, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले भोली (बिहीबार) मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् ।
निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए ।
निर्वाचन आयोगले भोली मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ । ‘विगतमा यसलाई मौन अवधि भन्ने गरिएको भएपनि कानुनमा मौन अवधि भन्ने उल्लेख नभएको पाईएपछि आयोगले यसपटक मौन अवधि नभनेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । आइतबार बिहान ७ बजे मतदान सुरु हुने भएकाले त्यसको ४८ घण्टा अघिदेखिको स्थीर समयमा कुनै दल तथा उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने उनले बताए । भण्डारीले भने, बिहीबार राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार निषेध हुनेछ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् ।
निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । निर्वाचन आयुक्त भण्डारीले मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ । ‘कुनै पनि तरिकाले मत माग्न र निर्वाचन प्रचार गर्न नहुने व्यवस्था आचारसंहितामै रहेको पनि बताए ।
निर्वाचन सुरक्षाका लागि भन्दै निर्वाचन हुनु ७२ घण्टाअघि अर्थात् बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ । बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने अभ्यास छ । मुलुकको सुरक्षा अवस्था र निर्वाचन सुरक्षा तयारीबारे सुरक्षा निकायले निर्वाचन आयोगका पदाधिकारीलाई जानकारी गराइसकेका छन् ।
निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिदेखि मदिरा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय आयोगले बुधबार गर्दै छ ।
प्रतिनिधिसभाका १ सय ६५ सिटमा २ हजार ४ सय १२ र सातै प्रदेशका ३ सय ३० सिटका लागि ३ हजार २ सय २३ उम्मेदवार छन् । १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको छ । सम्बन्धित कर्मचारीलाई बिहीबारसम्म मतदान केन्द्रमा पुगिसक्न आयोगले निर्देशन दिएको छ । आयोगका अनुसार निर्वाचनमा २ लाख ४७ हजार कर्मचारी खटिनेछन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।
हिमपातका कारण निर्वाचन सामग्री र कर्मचारी पैदल मार्गबाट पठाउन नसक्ने भएपछि हुम्लाका ३ र डोल्पाका मतदानस्थलमा हेलिकोप्टर प्रयोग गरिएको पौडेलले जानकारी दिए । डोल्पामा हेलिकोप्टरबाट सामग्री र कर्मचारी व्यवस्थापन गर्न आयोगबाट सचिव नै खटाइएको छ ।
कतिपय मतदानस्थलमा खाद्यान्नसमेत नपाउने हुनाले हेलिकोप्टरबाटै ओसारिएको आयोगका प्रवक्ता पौडेलले बताए । आयोगले मतदान शान्तिपूर्ण बनाउन मंगलबार सुरक्षा बैठक राखेको थियो । बैठकले बिहीबारदेखि नै निजामती र प्रहरीको संयुक्त घुम्ती टोली परिचालन गर्ने निर्णय गरेको छ ।
मौन अवधिमा हुन सक्ने चलखेल रोक्न यो टोली परिचालन गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् ।
निर्वाचन सुरक्षामा २ लाख ९८ हजार म्यादीसहितका सुरक्षाकर्मी परिचालन हुँदै छन् ।