कार्तिक २९, सुर्खेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन संविधानको पूर्ण पालना गर्दै स्थिर सरकार निर्माण, शान्ति प्रक्रियाका बाँकी कामहरुको पूर्णता र तीव्र आर्थिक विकासमा केन्द्रित हुने बताएका छन् ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक भएको देउवाको भनाइ थियो । सुर्खेतको मेहलकुनामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएकोले यो दीर्घकालसम्म रहने पनि दाबी गरे ।
देउवाले भने, ‘संसद्लाई सरकारको विरोध गर्ने, आलोचना गर्ने, संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हक छ,’भने, ‘त्यसैले शंका नगरेर गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दछु ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई पाँच पाण्डव भनेर सम्झिए पुग्ने बताए । उनले पाँच ‘पाण्डव’विरुद्ध ‘कौरव’हरुको समूह देखा परेकाले एकढिक्का भएर अगाडि बढ्न सुझाव दिए । उनले गठबन्धनले संविधानको रक्षा गर्दै कोरोना नियन्त्रण, संविधानको मर्म र भावनाअनुसार स्थानीय तहको निर्वाचन सम्पन्न सफल भएको बताए ।
उनलेनिर्वाचनमार्फत अहिलेको गठबन्धनलाई अझै बलियो बनाउँदै लगिने बताए । ‘अहिलेको परिवर्तन सानो दुःखले आएको होइन्, १२ बुँदे बिस्तृत शान्ति सम्झौतापछि देश नयाँ युगमा प्रवेश गरेको हो,’ उनले भने, ‘यसलाई उल्ट्याउने कुनै दुस्प्रयास हाम्रा लागि सैह्य छैन ।’