कार्तिक २२ पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले लिम्पियाधुरा बन्दुकले लडेर नभई वार्ता गरेर फिर्ता ल्याउने बताएका छन् ।
आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्दै ओलीले प्रचण्डको संगतले होला अब त देउवा जि पनि बन्दुकको भाषा बोल्न थाल्नु भयो भन्दै कटाक्ष गरेका छन् ।
दार्चुलामा आम सभा गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवा घरको बाघ बनको बिरालो भएको भन्दै भूमि फिर्ता ल्याउन नसकेकोमा आलोचना गरेका थिए ।
त्यसको जवाफमा देउवाले डडेलधुरामा आयोजित सभामा ओलीलाई लड्ने भए बन्दुक ल्याउनुस् हैन भने भाषणले भूमि फिर्ता हुँदैन कुटनीतिक वार्ताबाट फिर्ता ल्याउन प्रयास भईरहेको बताएका थिए ।
यही प्रश्नको जवाफमा ओलीले देउवाप्रति कटाक्ष गरेका हुन् ।
ओलीले देउवाले भारत बिरुद्ध चुईक्क बोल्न नसकेको भन्दै घुँडा टेकेको आरोप समेत लगाए ।
अब यो गठबन्धनको लक्ष्य उदेश्य केही नभएको र को प्रधानमन्त्री हुने भन्ने पनि तय नभएको भन्दै एमालेले एकल बहुमतको सरकार बनाउने उनको जिकिर छ ।