काठमाडौं, २७ असोज । एमाले नेता भीम रावलले आफूलाई प्रतिनिधिसभाको टिकटबाट वञ्चित गरिनुमा देशी विदेशी षडयन्त्र भएको र त्यसमै परेर एमाले अध्यक्ष केपी ओलीले टिकट नदिएको बताएका छन् ।
बिहीबार कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो देशभक्त र राष्ट्रहितको तेजोबध गर्नकै लागि राजनीति सिध्याउन टिकट नदिइएको आरोप लगाए । उनले आफूले एमसीसीको विरोध गर्दा र विपक्षमा भोट हाल्दा त्यसलाई अहिले टिकट दिने बेला उठाइएको बताए ।
रावलले ओलीले गरेको निर्णय प्रथम दृष्टिमै स्वेच्छारिता र गलत रहेको पनि दाबी गरे । ‘षड्यन्त्रपूर्ण स्वेच्छाचारी ढंगले मलाई निर्वाचन नलड्ने भ्रमपूर्ण प्रचार गरियो । सोहीअनुसार रावल सम्पर्कविहीन भनेर प्रचार गरियो । माफी माग्नुपर्ने हल्ला चलाइयो । यसमा पार्टीको जिम्मेवारीमा रहेका केही व्यक्ति लागेका थिए । ओलीका मान्छेले गरेको अध्ययनमा मलाई हराउन नसकिने देखियो । त्यसपछि कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो,’ रावलले भने ।
उनले एमाले भित्र वा बाहिरका जो भए पनि देशभक्त उम्मेद्धारहरुलाई जिताउन लाग्ने घोषणा गर्दै सबै एमाले उम्मेद्धारलाई जिताउन नलाग्ने बताए ।
उनको यो घोषणाले अछाममा टिकट पाएका झपट रावललाई घाटा पुग्ने देखिन्छ । उनलाई लेखराज भट्टका कारण रावलको ठाँउमा टिकट दिईएको थियो ।