सत्ता गठबन्धनको उम्मेद्वारी खारेज सदर भएसँगै रुपन्देही २ मा विष्णु पौडेललाई सहज

सत्ता गठबन्धनको उम्मेद्वारी खारेज सदर भएसँगै रुपन्देही २ मा विष्णु पौडेललाई सहज

  • बिहिबार, अशोज २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

बुटवल, २७ असोज । रुपन्देही–२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेजलाई सदर गर्दै निर्वाचन आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ । सत्तारुढ गठबन्धनको उम्मेदवारी नै खारेज भएपछि रुपन्देही–२ एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई चुनाव जित्न सहज भएको छ । अव यस क्षेत्रमा पौडेलसहित साना दल र स्वतन्त्र गरी १५ जनाको उम्मेदवारी कायम भएको छ ।

अन्तिम नामावली प्रकाशनसँगै सत्ता गठबन्धन उम्मेदवारविहीन भएपछि पौडेल प्रतिस्पर्धीविहीन जस्तै देखिएकाले उनको जित सुनिश्चित भएको विश्लेषण गर्न थालिएको छ ।

यो क्षेत्रमा अब पौडेलसंग केही साना पार्टी र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनेछन् । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांँग्रेस वीपीकी नमादेवी गौतम जैसी, मंगोल नेसनल अर्गनाइजेसनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् । यस्तै, स्वतन्त्रबाट रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालय प्रमुख उद्धिर नेपालीले जानकारी दिए ।

यो क्षेत्रमा १८ जनाको उम्मेद्वारी दर्ता भएकोमा तीन जना उम्मेदवारमाथि परेको उजुरी छानविन गर्दा सत्ता गठबन्धनका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा. निकोलस भनिने कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले तीनैजनाको उम्मेदवारी खारेज गरेको थियो ।

कमल भुसालको उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवारहरु विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दिएका थिए । उजुरीमाथि छानविन गर्दा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङं) वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले भुसालको उम्मेदवारी खारेज भएको हो ।

यस्तै गुरुङ र बस्यालको उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड ९ज० तथा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) अनुसार दुबै जना उम्मेदवार हुन अयोग्य भएकाले उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ७ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालो सूचिमा राखेको थियो ।

गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो ।

सत्ता गठबन्धनले भने गुरुङको उम्मेदवारी खारेजीको निर्णय सच्याउन र निर्वाचन अधिकृत उद्विर नेपालीलाई हटाउन माग गर्दै बुधबार जिल्ला निर्वाचन आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ