असोज २४ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध अहिले पार्टी पक्तिभित्र असन्तुष्टी बढेको छ । माधव नेपालले विद्रोह गरेर पार्टी निर्माण गर्दा समेत उनकै समुहमा रहे पनि एमालेमै बस्ने निधो गरेका दश भाई मध्यका भीम रावलले अछामबाट सर्वसम्मत उम्मेद्धारको रुपमा सिफारीस पर्दा पनि टिकट पाएनन् ।
यता पार्टी कमिटिबाट सिफारीस हुँदा पनि रुपन्देहीमा ओलीले टिकट नदिएपछि भुषालले एमाले परित्याग नै गरे ।
भुषाललाई प्रचण्डको सहयोगको आस्वासन पछि रुपन्देही १ बाट स्वतन्त्र उम्मेद्धारी दिएका छन् । उनलाई गठबन्धनले सहयोग गर्ने भएको छ ।
भीम रावललाई टिकट नदिईएपछि अछाम पार्टीमा त विद्रोह नै शुरु भएको छ । अछामका सँयौँ नेता कार्यकर्ताले पार्टी परित्याग गरी भीम रावलको पक्षमा रहेको सार्वजनिक घोषणा नै गरिसकेका छन् ।
अछाममा ओलीले टिकट दिएका पूर्व माओवादी नेता झपट रावल मनोनयन गर्न जाँदा एमालेकै कार्यकर्ताले ओली बिरुद्ध कालो झण्डा देखाउदै नारावाजी गरेका थिए ।
देशका विभिन्न भागमा टिकट वितरणमा स्वेच्छाचारी प्रवृति अपनाईएको भन्दै अध्यक्ष ओली बिरुद्ध असन्तुष्टी बढेको पाईएको छ ।
यता भीम रावल र घनश्याम भुषालहरुलाई पाखा लगाएका ओलीले जनआन्दोलन दमन गर्ने शाही सरकारका गृहमन्त्री रही सकेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भने काखी च्यापेका छन् । उनलाई मकवानपुरबाट सूर्य चिन्हबाट चुनाव लड्न ओलीले स्वीकृति दिएपछि थापाले खुसी व्यक्त गरेका छन् ।
झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिग्देनलाई सहयोग गर्ने तयारी गरेका ओलीले झापा ५ मा आफू विजयी हुन राप्रपाको सहयोग लिने तयारीमा छन् ।
पार्टी भित्र आलोचना गरेकै आधारमा दशकौँ देखि योगदान गरेको नेतालाई पाखा लगाउने र कमल थापालाई काँध हाल्ने एमाले अध्यक्ष ओलीको कदमले पार्टी भित्र असन्तुष्टी जन्माएको छ ।