झापा, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचन पछि एमालेको नेतृत्वमा देशभक्त सरकार बन्ने बताएका छन् । देशमा आन्तरिक र बाह्य स्वार्थहरूबाट गठित गठबन्धन सरकार यस निर्वाचनमा पछारिने र एमालेको सरकार बन्ने उनले बताए ।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएपश्चात् दमकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘अबको निर्वाचनले परमादेश, जनताको आदेश नभएको जनविरोधी, देश घाती गठबन्धन सरकारलाई पछारेर फेरि हामीले देशभक्त, लोकतान्त्रिक, शान्तिको पक्षधर, विकासको अभियन्ता भएको सरकार गठन गर्नुपर्ने छ, त्यो पनि एमालेको नेतृत्वमा।’
२०७४ सालको निर्वाचनपछि एमालेको नेतृत्वमा एउटा देशभक्त सरकार बनेको भन्दै ओललिे एमाले सरकारमा हुँदा राष्ट्रियताको निम्ति धेरै काम गरेको स्मरण गराए । ओलीले भने, ‘उत्तरतिरबाट बाटो खोल्दा, देशको नयाँ नक्सा प्रकाशित गर्दा आत्तिएर केही तत्त्वहरूले कन्फर्टेबल (आरामदायी र सजिलो) सरकार भइदिन्छौँ भनेर कबोल गरेर गठबन्धन सरकार बनायो।’
गठित गठबन्धन सरकारले बितेको १५ महिनामा देशको राजनीति, अर्थतन्त्र, समाज सबै क्षेत्रमा विकृति विसङ्गति ल्याएको उनको भनाई छ। विकासको गतिमा अवरोध गर्नुका साथै शान्ति, सुव्यवस्थामा समेत खलल पुर्याएको ओलीले बताए ।
मंसिर ४ गते हुने निर्वाचनले ठूलो फैसला लिनुपर्ने उनको भनाई छ। फैसलाका लागि हामी सबै तयार हुन उनको आह्वान गरे। ‘विभिन्न प्रकारका भ्रमपूर्ण कुराहरू, साम्प्रदायिक कुराहरू, क्षेत्रीयतावादी कुराहरू, अराजनीतिक कुराहरू लिएर तपाईंहरूको बीचमा आउन सक्छन्,’उनले भने, ‘ती कुराहरूको पछि नअलमल्लिएर सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले, अत्यधिक सिटमा विजयी गराउन सबैमा आग्रह गर्न चाहन्छु।’
ओलीले एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको मुहार फेर्ने बताए ।