काठमाडौँ, २२ असोज । निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत पहिलो हुने निवचित हुने प्रणालीतर्फ मनोनयनपत्र दर्ताका लागि हालैका दिनमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ हुने हकमा आवश्यक सहजीकरण गर्ने भएको छ ।
त्यस्तो घटना भएका स्थानमा लागि आवश्यक कागजात असोज २३ गते बिहान १० बजेभित्रमा आयोगको कार्यालय, कान्तिपथ, काठमाडौँमा प्राप्त भएमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइ आवश्यक सहजीकरण गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
सोका लागि उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा, स्वघोषणा, दलको उम्मेदवारको हकमा दफा १९ बमोजिमको औपचारिकपत्र, दफा २० बमोजिम धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर, उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम, र उम्मेदवारको वैयक्तिक विवरण आयोगलाई बुझाउनुपर्नेछ ।
आइतबार बिहान १० बजेभित्र निर्वाचनआयोगमा आवश्यक कागजात उपलब्ध गराएमा आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाएको उल्लेख गरेको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ।
शनिबार भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विविध कारणवश केही दलले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा थप समय दिन आग्रह गरेको भएपनि विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत राखिएको स्पष्ट पारेका थिए। उनले उम्मेदवारले निर्वाचन प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि दलले मनोनयन गरेको औपचारिक पत्र, मनोनयनपत्र र निस्सालगायतका कागजातहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट पारेका थिए ।