काठमाडौं, १२ असोज । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली कांग्रेस शेखर कोइराला समूहले पार्टी मुख्यालयमा धर्ना सुरु गरेको छ।
निर्वाचनमा समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा शेखर समूहले धर्ना सुरु गरेको हो।
पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीमा मनोमानी गरेको र बन्दसूचीमा सल्लाह नै नगरी नाम पठाएको संस्थापनइतरको आरोप छ ।
शेखर समूहले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने माग अघि सारेको छ । आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ ।

यसअघि मंगलबार कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले पार्टीभित्रको सहमतिबाटै बन्दसूचीमा नाम पठाइएको बताएका थिए ।
आज बिहान बालुवाटारमा शेखर समूहको माग सम्बोधन गर्न कांग्रेस पदाधिकारीबीच छलफल समेत भएको थियो।