काठमाडौं, ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उलंघन गरेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित अखिल नेपाल किसान महासंघको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जानीजानी संविधान मिच्ने काम गरेको आरोप लगाए ।
‘राष्ट्रपतिबाट जानीजानी संविधान मिच्ने काम भयो। नजानेर होइन। हजारौंको बलिदानबाट, लाखौंलाख किसान ,मजदुर, उत्पीडितको आन्दोलनका उपलब्धि खोस्ने प्रयास भएको छ,’ प्रचण्डले भने ।
उनले नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध सबै किसान एकजुट भएर अभियान नै संचालन गर्न आग्रह समेत गरेका छन् ।
संविधानको पालक, रक्षकबाट नै संविधान मिच्ने काम भएको भन्दै प्रचण्डले भने, ‘यो सामान्य होइन, यो कदमका विरुद्ध अभियान संचालन गर्न आग्रह गर्दछु।’
उनले परिवर्तन विरोधी शक्तिहरु माओवादी आन्दोलन असफल पार्न लागिपरिरहेको बताए। अहिले पनि एकथरी समूह आफ्नोविरुद्धमा षडयन्त्र गरिरहेको उनको भनाइ छ।
‘एकथरी मानिसहरु राजनीतिक धुप बालेर बसेका छन्। प्रचण्ड सिद्धियोस् भनेर । यो देशमा अस्थिरताको कारण प्रचण्ड हो भनेर प्रचार गरिदै आएको छ यो गलत हो’ प्रचण्डले भने ।