एजेन्सी असोज ४ । गत फेब्रुअरी २४ देखि रुसी सेना र डोनबास क्षेत्रका पृथकतावादी विद्रोही सेनाले सँयुक्त रुपमा युक्रेन बिरुद्ध हमलागरेपछि कब्जामा आएको डोनबास क्षेत्रका दुई राज्य रुसमा बिलय हुने तयारीमा जुटेका छन् ।
पछिल्लो समय खारकिभमा युक्रेनी सेनाको प्रत्याक्रमण पछि डोनेस्क र लुहान्स्क रिपव्लिकले जनमतसंग्रह मार्फत रुससँग एकीकरणको तयारी थालेका छन् ।
फेब्रुअरीमा रुसले उक्त दुई राज्यलाई मान्यता दिएर बिशेष सैन्य अभियान थालेको थियो ।
सन् २०१४ मा अमेरीकी समर्थनमा युक्रेनमा मैदान क्रान्तिपछि पश्चिमा समर्थक सरकार बनेसँगै क्रिमियामा रुसले सैन्य हस्तक्षेप गरी जनमतसंग्रह मार्फत रुसमा एकीकरण गरिएको थियो ।
अब करीब ६० लाख जनसंख्या रहेको डोनबास क्षेत्र पनि रुसमा सामेल हुने तयारीमा जुटेपछि युक्रेनलाई थप झड्का लाग्ने देखिएको छ । युक्रेन अमेरीका र नेटोको हतियार र पैसाको बलमा रुससँग संघर्ष गरिरहेको छ ।
डिपिआर र एलपीआरका नामले चिनिने ती दुई राज्यमा बहुसंख्यक रुसी भाषी नागरिक रहेका छन् । २०१४ मै त्याहाँका नागरिकहरुले बिद्रोह थालेपछि युक्रेनले दमन गर्दै आएको थियो ।