एजेन्सी भदौ ३० । अमेरीकासँग बढ्दो तनावका बीच रुस र चीनबीच रणनीतिक सम्बन्ध उचाईतर्फ बढ्दै गएको छ । साघाई कुअपरेसन अर्गनाईजेसनको उज्वेकिस्तानमा शुरु भएको समिटका सन्दर्भमा राष्ट्रपति पुटिन र सि जिन पिगंले भेटवार्ता गरी आपसी सम्बन्धको चर्चा गरे ।
युक्रेनमा रुसले हमला गरेपछि पहिलो पटक रुसी राष्ट्रपति र चीनीया राष्ट्रपतिबीच भेटवार्ता भएको हो । उनीहरुलाई कोरोनाको प्रोटोकल समेत वास्ता नगरी नजिक बसेर विना मास्क कुराकानी गरेको रुसी समाचार एजेन्सी तासले उल्लेख गरेको छ ।
यो बैठक रुसमाथि अमेरीका र नेटो सदस्यको आर्थिक प्रतिवन्धपछि रुस र चीनबीच व्यापार वृद्धि भएको, रुसमा अमेरीकी डलर भन्दा बढी चीनीया युआनको कारोबार बृद्धि भएको, रुसी ग्यास चीन तर्फ भारी मात्रामा निर्यात भएको पृष्टभूमिमा भएको छ । केही समय अघि रुसमा आयोजित सँयुक्त सैन्य अभ्यासमा पनि चीनका हजारौँ सेना सहभागी भएका थिए ।
अमेरीकाले युक्रेनलाई हतियार र पैसा दिएर रुस बिरुद्ध लड्न प्रेरित गरीरहेको छ भने ताईवानमा चीनको विरोधका बीच राजनीतिक भ्रमण र सैन्य सहायता दिएर चीनलाई तर्साईरहेको छ । यो मामलामा पनि पुटिनले सिलाई रुस एक चीन नीतिको पक्षमा दृढ रहेको स्पष्ट पार्दै अमेरीकी उक्साहटको बिरोध गरेका छन् ।
सिले पनि रुससँगको सहकार्य र सहयोगको प्रतिवद्धता दोहोर्याएका छन् । पुटिनले जोड दिएर अमेरीकाले विश्वलाई एक ध्रुवीय बनाउन खोजिरहेको भन्दै आपत्ति पनि जनाएका थिए ।
यो सम्मेलनका सन्दर्भमा पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्नेछन् । साथै यो संगठनमा यस पटक देखि अमेरीका विरोधी मध्यपूर्वको शक्ति ईरान पनि जोडिएको छ ।
एससीओलाई पुटिनले गतिशिल बनाउनु पर्नेमा जोड दिएका छन् ।
रुस र चीनको रणनीतिक सहकार्यले अमेरीकाको एक ध्रुवीय विश्व कायम राख्ने प्रयासलाई रोक्न बल पुग्ने देखिन्छ ।