भदौ २८ काठमाण्डौँ । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेसका अध्यक्ष ली झान्सु आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यतालिका छ ।
उनले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। यस्तै परराष्ट्रमन्त्री नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग बिहान ९ बजे भेटवार्ताको तालिका छ । यस्तै, उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने छन् ।
त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्काले लिउसँग होटल सोल्टीमै भेट्ने कार्यक्रम छ ।
त्यसपछि लिउ प्रधानमन्त्रीसँग भेटवार्ताका लागि वालुवाटार पुग्नेछन् ।
लिले भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ।
हिजो काठमाण्डौँ ओर्लिएका लि ले सभामुख अग्नीसापकोटासँग द्धिपक्षीय भेटवार्ता गरी संसदीय सहकार्य सम्बन्धि ६ बुदे समझदारीमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापत्र अनुसार दुवैपक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूलभूत हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन्।
अध्यक्ष लीको नेतृत्वमा आएको ६ जना चिनियाँ उच्चअधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार फर्कने कार्यक्रम रहेको छ।