रुस र युक्रेनबीच युद्ध शुरु भएको दुई सय दिन पूरा भएको छ । यस युद्धका क्रममा हाल सम्म हजारौँ सेना र नागरिकको मृत्यु भईसकेको छ । दुई सय दिन पुग्दै गर्दा युक्रेनले रुस विरुद्ध पूर्वी तथा दक्षिणी क्षेत्रबाट पश्चिमा देशहरुको हतियार तथा प्राविधिक सहयोगमा प्रत्याक्रमण शुरु गरेको छ । २ हजार किलो मिटर भुभाग पुनः कब्जा गरेको युक्रेनले बताएको छ ।
युक्रेनलाई यो प्रत्याक्रमणका लागि अमेरीका र नेटो देशहरुले अर्बौ डलर पैसा र ठूलो मात्रामा अत्याधुनिक हतियार र तालिम दिईरहेका छन् । यस युद्धमा ती देशका नागरिकहरुले समेत युक्रेनको पक्षमा युद्ध लडिरहेका छन् ।
यता रुसले भने सेप्टेम्बर ६ देखि ११ सम्ममा प्रत्याक्रमणमा आएका २ हजार युक्रेनी सेना रुसी कार्बाहीमा मारिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी ४ हजार सेनाको मृत्यु हुनाका साथै ८ हजार सेना घाईते भएको बताएको छ । यस क्रममा दर्जनौँ रकेट प्रहार गर्ने यन्त्र, गाडी, हेलिकप्टर र ड्रोनहरु समेत नष्ट गरिएको बताएको छ ।
युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र र द्वन्द्वको केन्द्रबिन्दु जापोरिजिया प्लान्टमा रहेको अन्तिम रिएक्टर पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।
रूसको आक्रमणविरुद्ध युक्रेनको लडाईंको गतिले मस्कोको सेनालाई सतर्क बनाएको छ, जसले रूसले महिनौं अघिदेखि नियन्त्रण गरेको क्षेत्र युक्रेनको पक्षमा ल्याएको छ ।
युक्रेनी सेनाले पोस्ट गरेको तस्वीरमा रूसी सेनाले छोडेको क्षेत्रमा फ्याँकिएका हतियार र परित्यक्त सैन्य सामानका बाकसहरू छरिएको देखिएको छ ।
“खार्किभ क्षेत्रको कुपियान्स्क र इज्युम जिल्लाका बस्तीहरू मुक्त गर्ने कार्य जारी छ,” युक्रेनी सेनाले रूसको आक्रमणको २०० दिनपछि आइतबार युद्धबारे गरेको जानकारीमा भनेको छ ।
यी प्रमुख आपूर्ति र बन्दोबस्तीका केन्द्रहरू हुन् । यिनीहरू यूक्रेनको पूर्वमा रूसले आफ्नो अग्रपङ्तीको स्थितिहरूलाई पुनः एकिकृत गर्न महत्वपूर्ण छन् ।
युक्रेनले उनीहरूलाई कब्जा गर्नु खार्किभमा मस्कोको सैन्य महत्वाकाङ्क्षामा गम्भीर आघात पुग्ने सैन्य पर्यवेक्षकहरूले बताएका छन् ।
युक्रेनको जितप्रति मस्कोको प्रतिक्रिया मौन रहेको छ, तर आइतबार बेल्गोरोडको सीमा क्षेत्रका एक अधिकारीले ‘हजारौं’ मानिसहरू सीमा पार गरेर खार्किभ क्षेत्र र रुसतर्फ भागेको बताएका छन् ।
एक हजारभन्दा बढी मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको अधिकारी व्याचेस्लाभ ग्ल्याडकोभले जानकारी दिए ।
यसैबीच रुसी सेनाले शनिबार आश्चर्यजनक घोषणा गर्दै खार्किभदेखि दक्षिणमा रहेको डोनेट्स्क क्षेत्रमा आफ्नो सैन्य प्रयास केन्द्रित गर्न आफ्ना सेनालाई ‘पुनः संगठित’ गर्ने घोषणा गरेको छ ।
तर मस्कोले पनि वास्तवमा खार्किभतर्फ सुदृढ आक्रमण केन्द्रित गरिरहेको भन्ने घोषणाको केही समयपछि युक्रेनको यो भनाइ आएको हो ।
युक्रेनी सेनाले पुनः कब्जामा लिएको भनिएको शहरमध्येको एक बालाकलिया वरपर भीषण युद्धका प्रमाणहरू देखिएका छन् । त्यहाँ भवनहरू ध्वस्त वा क्षतिग्रस्त भएका थिए र सडकहरू मुख्यतया सुनसान थिए ।