एजेन्सी भदौ २४ ।
बेलायती महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ। बकिङ्घम प्यालेसले महारानीको निधनको घोषणा गरेको हो । उनी ७० वर्ष बेलायतको महारानीको रुपमा रहिन् ।
बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो। अहिले उनको निधनपछि शाही परिवारका सबै सदस्यहरु स्कटल्याण्डमा जम्मा भएका छन् । राजनीतिक नेता र सर्वसाधारण जनताले पनि श्रदाञ्जली दिईरहेका छन् ।
रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका महाराजा बनेका छन्।
रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने छ। बेलायतमा राष्ट्रिय शोकपछि करीब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ ।
एलिजावेथ अलेक्जेन्ड्रा मेरी २१ अप्रिल १९२६ मा लन्डनमा राजकुमारीका रुपमा जन्मेकी थिइन्।
त्यसबेला कसैले पनि उनी रानी बन्ने आशा गरेका थिएनन्। किनभने उतिबेला उनी रोलक्रममा आफ्नो बुबा र काकापछि तेस्रो स्थानमा थिइन्।
१९४७ मा उनले राजकुमार फिलिपसँग विवाह गरिन्। जो युद्धको समयमा उनका प्रेमी थिए। उनको २०२१ मा निधन भयो।
१९५२ मा उनका बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनिन्। राजगद्दीमा बसेको १६ महिनापछि उनको राज्याभिषेक समारोह आयोजना गरिएको थियो।
उनी कमनवेल्थ प्रमुख, बेलायती सेनाको कमान्डर–इन–चिफ, चर्च अफ इंग्ल्यान्डको सुप्रिम गर्भनरसहित ६०० भन्दा बढी संस्था र च्यारिटीको प्रमुख पनि थिइन्। अब ती सबै पदवी स्वतः उनको छोरामा सर्नेछ।
उनका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिनी छन्। २०१५ मा उनकी जिजुबजु महारानी भिक्टोरियालाई उछिन्दै उनी बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने रानी बनिन्।
रानी एलिजावेथ वि।सं २०१७ सालमा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्। तत्कालीन राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्था लागू गरेलगत्तै उनको नेपाल भ्रमण भएको थियो।



