- एजेन्सी भदौ २१ । रुस बिरुद्ध युद्ध गरिरहेको युक्रेनलाई हतियार दिँदा दिँदै अब युरोपेली देशको शस्त्रागर भण्डारण रित्तिन थालेको छ । गत ६ महिनामा भारी मात्रामा युरोपेली देशले गोला बारुद, टैंक र मिसाईल दिईरहेका छन् । युरोप र अमेरीकी हतियार र पैसाकै बलमा शक्तिशाली रुससँग युक्रेनले टक्कर लिईरहेको छ ।
हतियार युक्रेनलाई दिदा नै भण्डारण रित्तो भएपछि युरोपेली देशको आफ्नै रक्षाका लागि अब खतरा मडारिएको युरोपेली युनियनका नेताले चिन्ता जनाएका छन् ।
युरोपेली युनियनका एक नेताले सैन्य बन्दोबस्तीका सामाग्री बढाउन देशहरुलाई आग्रह गरेका छन् ।
युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले युरोपका सांसदहरुसँगको बैठकमा यस्तो भनेका हुन् । उनले सैन्य स्टक पुरै रित्तो नभए पनि काफी कम भएको भन्दै अब बढाउनु पर्ने चेतावनी दिएका छन् ।
अधिकांश युरोपेली देश आफ्नो रक्षाको निम्ति अमेरीकामा निर्भर रहँदै आएका छन् । जसका कारण उनीहरुले आफ्नो सैन्य भण्डारण कम राख्ने गरेका छन् । त्यही भएको पनि युक्रेनलाई दिँदा उनीहरुलाई समस्या आएको हो ।
एकातिर सैन्य समस्या बढ्दो छ भने अर्कोतिर युरोपमा आर्थिक मन्दी र ग्यासको संकटले पनि ठूलो समस्या पैदा गर्दैछ । आउने विन्टरका लागि रुसबाट ग्यास आयातमा कमी गरिएसँगै युरोपमा जंगलबाट दाउरा खोजेर जोहो गर्ने सम्मको कार्य हुँदै आएको छ । आर्थिक वृद्धि समेत घट्दै गएको छ ।
अमेरीकी नीतिमै हिँिडरहेका युरोपेली देशले रुसमाथि प्रतिवन्ध लगाएपछि रुसले पनि प्रतिवन्ध नहटुञ्जेल ग्यास नदिने चेतावनी दिँदै नर्ड स्ट्रीम १ बाट ग्यास आपुर्ति रोकेको छ । रुसबाट ग्यास नआउदा अमेरीकाबाट महंगोमा ग्यास ल्याउन युरोप बाध्य छ । जसले गर्दा ती देशहरुमा उर्जा संकट महंगो सावित हुदै आएको छ । यसले बेलायत, जर्मनी, फ्रान्स, ईटाली जस्ता देशमा ठूलो आर्थिक व्यवभार बढेको छ ।