काठमाडौँ भदौ २० । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नागरिकता विधेयक प्रमाणिकरणका लागि दोस्रो पटक पुगेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट राष्ट्रपतिले राखेका जिज्ञासाको संवोधन नगरी विधेयक जस्ताको तस्तै पुर्याईएको छ ।
राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको नगारिकता विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको हो ।
यस अघि विधेयक प्रमाणित नगरी राष्ट्रपतिले पुनरविचारका लागि संसदमा फिर्ता पठाएकी थिईन ।
राष्ट्रपतिले नागरिकता विधेयकका केही प्रावधानमा प्रश्न उठाँउदै संसदमा फिर्ता पठाए पनि सरकारले त्यसको सुनुवाई गरेन । बरु फेरी हुबहु पारित गरेर अघि बढायो । अब कानुनतः राष्ट्रपतिले पुनरविचारका लागि विधेयक फिर्ता गर्ने अवस्था छैन ।
राष्ट्रपतिले दलका नेता, सेनाका वर्तमान र पूर्व अधिकारीदेखि कानुन व्यवशायीहरुसम्म परामर्श गरेर राष्ट्रिय सहमतिका लागि जोड दिएकी थिईन् ।
तर नागरिकता विधेयकमा संसदको दुवै सदनमा कुनै संसोधन वा परिमार्जन भएन ।
अब यो विधेयक १५ दिन भित्र प्रमाणित गर्ने वा आफैले राजिनामा दिने बाहेक राष्ट्रपति सामु अर्को विकल्प छैन ।
नागरिकता विधेयकमा नेपाली युवासँग विहे गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता तत्कालै दिन सक्ने प्रावधानमा मुख्य असन्तुष्टी छ । भारत सहित अन्य देशमा सात वर्ष पछि मात्रै यस्तो नागरिकता दिने प्रचलन रहेको छ ।