काठमाडौं, १९ भदौ । प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन नजिकिएकाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरि सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन्।
नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन तयारीका लागि सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन्।
उनले कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिटै संघीय निजामती ऐन ल्याउने प्रतिवद्धता जनाए । ऐनको सन्र्दभमा आएका सुझावहरुका बारेमा आफू जानकार रहेको भन्दै उनले ऐन अघि बढाउँदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अवलम्वन गरिने धारणा राखे।
उनले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताए।
त्यस्तै, कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनीय दस्तावेज भएको भन्दै कर्मचारीको जायज मागलाई सम्बोधन हुने गरि ऐनलाई अन्तिम रुप दिनुपर्ने बताए।
कार्यक्रममा कर्मचारीहरुले आफूहरुको वृत्तिविकासका लागि अन्य विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए ।