निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन पनि बयान दिनुभएको छ । उहाँको बयान नसकिएकाले यही भदौ १९ गते थप बयान हुने तय भएको छ ।
सिंहदरबारमा बसेको समितिको बैठमा आज दुई वटा प्रश्नमा मात्र छलफल भएको छ । बुधबारदेखि सुरु भएको बयानमा आजसम्म कूल छ वटा प्रश्नमा मात्र सवालरजवाफ भएको छ । कूल प्रश्न ४३ वटा रहेका छन् । त्यसमध्ये बुधबार चार प्रश्नमा सवालरजवाफ भएको थियो ।
बयानपछि समितिका सदस्य मीन विश्वकर्माले आजको पाँचौँ र छैटौँ प्रश्न अलि लामो र व्याख्यात्मक भएकाले समय लागेको जानकारी दिनुभयो । “प्रश्नहरु पनि लामै थिए, प्रधानन्यायाधीशको जवाफ पनि लामो नै रह्यो, प्रश्न, प्रतिप्रश्न हुने क्रम भइरह्यो”, उहाँले भन्नुभयो, “राणालाई न्यायसम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र न्यायसम्पादनको प्रक्रियामा भ्रष्टाचार केन्द्रित प्रश्न सोधिएको थियो ।”
बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश राणाले महाभियोग सिफारिस समिति तथा सांसदमाथि नै निष्पक्षताको प्रश्न उठाउनुभएको समितिका सदस्य रेखा शर्माले जानकारी दिनुभयो । उहाँले राणाको भनाइ उद्धृत गर्दै भन्नुभयो, “आफूविरूद्ध महाभियोग प्रस्ताव गर्ने सांसद नै समितिमा रहेका छन्, यस्तो भएपछि कसरी निष्पक्षता हुन्छ ? ”
निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरूपमा आरोप लगाएको बयान दिनुभएको बताउनुभएको छ । छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहनुभएका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ ।
उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते मात्र समितिको पहिलो बैठक बसेको थियोे ।
राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।
समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम अब यही भदौ १९ गते हुनेछ ।