एजेन्सी साउन १३ । ताईवान मामलालाई लिएर अमेरीका र चीनबीचको विवाद चरम बन्दै गएका बेला दुबै देशका राष्ट्रपतिले टेलिफोनमा लामो कुराकानी गरेका छन् ।
गएराति भएको २ घण्टा १७ मिनट लामो टेलिफोन संवादमा चीनीया राष्ट्रपति सि जिन पिङले अमेरीकी राष्ट्रपति जो बाईडेनलाई ताईवान मामलामा अमेरीकाले आगोसँग खेलिरहेको भन्दै स्पष्ट चेतावनी दिएका छन् ।
चीनीया सञ्चार माध्यमका अनुसार बाईडेनले सि सँगको कुराकानीमा अमेरीका एक चीन नीतिको समर्थनमै रहेको र ताईवानको स्वतन्त्रताको पक्षमा नरहेको बताएका थिए ।
बाईडेन राष्ट्रपति बनेपछि दुई नेताबीच भएको यो पाँचौ टेलिफोन संवाद हो ।
सि ले बाईडेनलाई भने, चीनका एक अर्ब ४० करोड बढी जनताको ईच्छा हो सार्वभौम सत्ताको रक्षा र क्षेत्रीय अखण्डताको रक्षा । जनताको यो दृढ ईच्छाशक्तिलाई नकार्न सकिदैन, जसले आगोसँग खेल्छ त्यो नष्ट हुन्छ । म आशा गर्छु अमेरीकाले यो कुरालाई स्पष्ट रुपले हेर्नेछ । एक चीन नीतिलाई मान्ने वा नमान्ने कुराले अमेरीका चीन सम्बन्धको आधार तय गर्दछ ”
यो तनावका बीच भएको संवादको पहल अमेरीकी राष्ट्रपति बाईडेनले लिएका थिए । उनकै अनुरोधमा सि कुरा गर्न तयार भएका हुन् ।
अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसी सहितको टोलीले ताईवान भ्रमण गर्ने चर्चा पछि चीन क्रुद्ध बनेको छ ।
यस अघि चीनीया रक्षा मन्त्रालयले पेलोसीले ताईवानको भ्रमण गरेमा जनमुक्ति सेनाले कुनै पनि कठोर कदम चाल्न सक्ने र त्यसको जिम्मेवार अमेरीका हुने चेतावनी दिएको थियो ।
ताईवान चीनको अभिन्न अंग भएको र त्यसै नीतिलाई पालना गर्न चीनले अन्तराष्ट्रिय समुदायलाई अपील गर्दै आएको छ ।
यो कुटनीतिक संवाद र वार्ताका बीच अमेरीकाले निरन्तर ताईवानलाई घातक हतियार बेच्दै आएको छ भने दक्षिणी चीनीया सागरमा सैन्य गतिविधि बढाईरहेको छ । त्यसको प्रत्युत्तरमा चीनले पनि सैन्य अभ्यास र तैनाथी जारी राखेको छ ।