एजेन्सी साउन २ । बेलायतमा अत्याधिक गर्मी बढेपछि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ ।
सोमबारको तापक्रम ४१ डिग्री पार गर्ने प्रक्षेपणपछि बेलायतले पहिलो पटक अत्याधिक तापक्रम वृद्धिका कारण राष्ट्रिय संकट घोषणा गरेको हो । युके महानगर कार्यालयले राजधानी लण्डन, म्यान्चेस्टर, योर्कलगायतका क्षेत्रमा सोमबार र मंगलबार तापक्रम ४१ डिग्रीमाथि पुग्ने देखिएकाले सचेत हुन सूचना जारी गरेको छ ।
केही विद्यालयहरू बन्द गरिएका छन् भने कतिपय अस्पतालहरूले पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् । त्यस्तै रेल वे, शपिङमल र रेष्टुराँहरूमा भीड नगर्न भनिएको छ ।
सडकमा अलकत्र पग्लेकाले बालुवा छर्न थालिएको भएपनि चालकहरूलाई ध्यान पुर्याएर सवारी चलाउन सुझाव दिइएको छ । युके स्वास्थ्य सुरक्षा एजेन्सीले अत्यधिक तापक्रमका कारण बिरामी पर्ने र ज्यानै जाने खतरा रहेको भन्दै आफूलाई चुस्त र तन्दुरुस्त राख्न भनेको छ ।
प्रधानमन्त्रीको कार्यालयले उच्च तापक्रमका कारण जारी गरिएको राष्ट्रिय संकटलाई अन्य संकटकालकै रुपमा लागू गरिने बताएको छ ।