काठमाडौं, जेठ ३ । भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ ।गणनाका क्रममा नेकपा एमालेका प्रतिनिधिले कर्मचारीले नै धाँधली गर्न खोजेको आरोप लगाएपछि अवरुद्ध बनेको मतगणना करिब २ घण्टापछि पुनः सुरु भएको हो ।
सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब सहभागी नगराउने तथा यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्नेबारे सहमति भएको छ । यस्तै प्रमुख जिल्ला अधिकारीले पनि गल्ती स्वीकार्दै माफी मागेका थिए । त्यससँगै भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणना पुनः सुरु भएको हो ।
एमालेका प्रतिनिधिहरूका अनुसार एक नम्बरको मतगणना स्थलमा एकै पदका उम्मेदवारको चुनाव चिह्न सूर्य र हलोमा छाप लगाउँदा मत बदर गरिएको तर ७ नम्बरको गणनास्थलमा सोही प्रकृतिको मतपत्र बदर नगरिएपछि तनावको अवस्था सिर्जना भएको थियो । मेयरतर्फ सूर्य र हलोमा एकै छाप लगाउँदा मत बदर भएको र रुख र हँसिया हथौडामा एउटै छाप भएको मतपत्र सदर गरिएको भन्दै एमालेले विरोध गरेपछि केहिबेर गणनास्थलमा चर्काचर्कि नै चलेको थियो ।
यसबारेमा मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीसँग राय लिइएपछि बदरको निर्णय सुनाएका थिए । त्यसपछि एमालेका प्रतिनिधिले ‘कर्मचारी बायस्ड र एकपक्षीय छ’ भन्ने आरोप लगाउँदै होहल्ला गर्न थालेका थिए ।
भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका मेयरका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
पछिल्लो परिणामअनुसार यहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार रेनु दाहाल ५,३८२ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ५,३६७ मत ल्याएका छन् ।