आज संसारको सबै भन्दा सुपर पावर अमेरीका हो । त्यसैको नेतृत्वमा रहेको नेटो जसमा ३० देश सदस्य छन् त्यो पनि रुसको सबै भन्दा ठूलो आजको दुष्मनको रुपमा सक्रिय छ । यी सबैको चेतावनी र कार्बाहीको धम्कीका बीच रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनबास ईलाकाका दुई शहर डोनेट्सक र लुहान्सकलाई पूर्वी युरोपको स्वतन्त्र देशको रुपमा मान्यता दिए पछि संसारमा सन्नाटा छायो । सँयुक्त राष्ट्रसंघ, अमेरीका र कतिपय युरोपेली देशले यस कदमप्रति चिन्ता जनाउदै नाकाबन्दी र प्रतिवन्धको घोषणा गर्न थालेका छन् । तर रुस गलेको छैन उसले स्वतन्त्र देश घोषणा गरेका ती ईलाकामा सेना र हतियार तैनाथ गरीसकेको छ ।
यो महाशक्तिशाली निर्णय गर्न सक्ने तागत १९९० को विखण्डनपछि कमजोर बनेको सोभियत संघलाई यो तीस वर्षमा पुटिनले नयाँ हैसियतमा फेरी विश्व सामु पुर्याए । आखिर को हुन् त पुटिन जसले यति धेरै शक्ति र क्षमताको विकास गरे ?
पुनिटले सन् २०१५ मा भनेका थिए, ५० वर्ष पहिले लेनिनग्रादको सडकले मलाई के शिक्षा दियो भने यदी लँडाई गर्नुहुन्छ भने पहिला आफूले मुक्का हान्नु पर्छ । ”
लेनिनग्रादमै पुटिनको घर थियो । त्यो लेनिनग्राद अहिले सेन्टपिटेर्सबर्गको नामले परिचित छ । सानैदेखि पुटिन आफू भन्दा ठूला केटाहरुसँग फाईट खेल्थे । त्यही बेला उनले जुडो सिके ।
यो कला आज पनि उनले प्रदर्शन गरे । पश्चिमा देशहरुको सबै जासुसी एजेन्सीहरुको भरमा बाईडेनले रुसले युक्रेनमा हमला गर्छ भन्दै हल्ला चलाईरहेका बेला सबैलाई चक्मा दिँदै पुटिनले विद्रोही नियन्त्रित ईलाकालाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिए । यसले नाटो र अमेरीका थप संकटमा पर्यो ।
७ अक्टोबर १९५२ मा सोभियत संघको लेनिनग्रादमा भ्लादीमोरोभिीच र मारिया ईवानोभवनाको कोखबाट तेस्रो सन्तानका रुपमा जन्मिएका पुटिनले सानैदेखि सिकेको रणनीति उपयोग गरे सबै पश्चिमाहरुको घेराबन्दीमा उनले पहिलो मुक्का प्रहार गरे डोनबासमा ।
पुटिनका हजुरवुवा स्पीरीडोन पुटिन लेनिन र स्टालीनका भान्से थिए । पुटिनकी आमा एक कारखानाकी मजदुर थिईन् र बुवा रुसी नेभीमा कार्यरत थिए ।
कानुन पढेका पुटिन १९७५ मा केजीबीमा भर्ती भए । त्यसपछि १९८० मा उनी जर्मनीमा कार्यक्षेत्र बनाएर तैनाथ गरिए ।
१६ वर्ष जासुसी सेवापछि राजीनामा दिएर उनी राजनीतिमा आए । १९९१ पछि सोभियत संघको विघटन पछि बोरिस यल्तसीन राष्ट्रपति भए र पुटिन उनको नजिक बसेर काम गरे । त्यही विस्वास पात्रको रुपमा काम गरेकाले यल्तसिनले पुटिनलाई सन् १९९९ मा प्रधानमन्त्रीका रुपमा नियुक्त गरे ।
त्यही वर्ष ३१ डिसेम्बर १९९९ मा यल्तसिनले राजीनामा दिए र पुटिन कार्यकारी राष्ट्रपति बने । त्यसपछि सन् २००० मा राष्ट्रपतिको चुनाव भयो र पुटिनले सो निर्वाचन जीते । यसरी उनी दुई कार्यकाल राष्ट्रपति फेरी प्रधानमन्त्री हुँदै फेरी राष्ट्रपतिको रुपमा रहेका छन् । उनी सत्ताको कुर्सीमा २३ वर्षदेखि बसिरहेका छन् । उनले संविधान नै संसोधन गरेर चाहेमा आगामी २०३६ साल सम्म सत्तामा बस्न सक्ने वातावरण तयार पारिसकेका छन् ।
बिपक्ष, मिडिया सबैमाथि प्रभावकारी नियन्त्रण गरेका पुटिनले चुनावमा प्राय ७० प्रतिशत जनमत पाँउदै आएका छन् ।
अमेरीकापछि ठूलो सेना र हतियार भएको रुससँग सबै भन्दा धेरै परमाणु हतियार छ । रुसलाई पुटिनले फेरी पनि महाशक्ति बनाउन सक्ने अनुमान लगाईदैछ । अहिले रुसलाई चीनको पनि साथ रहेको छ ।
पुटिनले जर्जियाको केही भाग र युक्रेनको क्रिमिया आफ्नै कार्यकालमा रुसमा विलय गराईसकेका छन् । बेलारुस, कजाकस्तान जस्ता पूर्व सोभियत राष्ट्रहरुलाई पनि साथमा लिईरहेका छन् ।