कार्तिक २३ एजेन्सी । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पाखा लगाउदै अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । बाईडेनको उपराष्ट्रपतिमा कमला ह्यारीस रहेकी छिन् ।
अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यमा जीतेसगैँ बाईडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन् । कुल २७० ईलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा उनले २७९ भोट पाएका छन् ।
बाइडेनले आफूलाई अमेरिकी जनताले नेतृत्वको जिम्मेवारी दिएर सम्मानित गरेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई भोट दिने र नदिने सबै अमेरिकी जनताको राष्ट्रपतिका रूपमा काम गर्ने पनि उनले उल्लेख गरेका छन् ।
अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि मतदान भएको थियो । एक सय २० वर्षको ईतिहासमा बाईडेनले सबै भन्दा बढी मत पाउने राष्ट्रपतिको रुपमा समेत चर्चा पाएका छन् ।
रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति ट्रम्पले भने आफूले जितेको भनेर ट्विट गरेका छन् । उनले आफू पराजित भएमा कानुनी लडाइका लागि अदालत जाने चेतावनी दिदै आएका छन् ।
बाईडेनको जीत पछि उनका समर्थहरुले उल्लास मनाईरहेका छन् भने ट्रम्पका समर्थकहरु असन्तुष्ट बनेका छन् ।