असार २६ काठमाण्डौं । खानेपानी मन्त्री विना मगरको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ४९ लाख बजेट विनियोजन गरेर कन्चनपुरको लालझाडी गाँउपालिका अन्तर्गत वडा नं ६ को चान्देव बजारदेखि हरियाली मार्ग कालोपत्रे गर्ने भनेर वडा अध्यक्ष फुलाराम चौधरीले दुर्गम क्षेत्रमा विकासका लागि फेरी यत्रो बजेट नआउने भन्दै जोडबल गरेर उपभोक्ता समिति गठन गरी असार २५ गते राति १२ बजे भित्र पिच गरीसक्ने भनेर लिएको बजेट फेरी खेर गएको छ । सम्झौता अनुसार २५ गते राति १२ बजे सम्म पिच भईसक्नु पर्ने थियो । तर २५ गते राति १२ बजे सम्म सडकमा अलकत्रा कुनै पनि ठाँउमा खसालिएन ।
असार १५ भित्र काम सक्ने गरी डिकेडिएस कम्पनीले पाएको ठेक्का कन्सलटेन्सीले लागत अनुमान बढाईदिएको पाईएको भन्दै असार १४ मा गाँउपालिकाले रद्ध गरे पछि वडाध्यक्षको जोडबलमा त्यो बजेट उपभोक्ता समिति मार्फत खर्च गर्न गाँउपालिकाले असार १९ गते सम्झौता गरेको थियो ।
उपभोक्ता समितिका अध्यक्ष रामशरण चौधरीका अनुसार अहिले सम्म ग्राबेल गरेर पिच गर्ने अन्तिम तयारी भए पनि निरन्तर पानी परेकाले पिच हुन नसकेको दाबी गरे । उक्तबाटो पिच गर्न अलकत्र पनि ल्याईसकेको तर आज राति सम्ममा सम्झौता अनुसार काम सक्ने अवस्था नरहेको स्वीकार गरे ।
जनश्रमदान समेत गरेर सामान सबै ल्याएको अवस्था रहे पनि काम हुन नसकेको उनले स्वीकार गरे ।
सम्झौता अनुसार जति काम भएको छ त्यसको मुल्याकंन गरेर मात्र भुक्तानी दिने छ गाँउपालिकाले । तर कतिको काम भएको छ ? कतिको सामान आएको छ ? कुल कति बजेट उपभोक्ता समितिले पाउला त भन्ने प्रश्नमा अहिले एकीन भईनसकेको , हिशाब किताब हुन बाँकी रहेको अध्यक्ष चौधरीले बताए ।
यस अघि १४ गते अध्यक्ष बनेका उनले मिर्मिरेले १६ गते सम्पर्क गर्दा आफू अध्यक्ष भएको जानकारी नभएको दाबी गरेका थिए ।
मन्त्रीपरिषद्को निर्णय अनुसार सो रकम समयमा काम नभए पछि कोरोना कोषमा जम्मा हुनु पर्ने थियो ।
निर्माण सक्नु पर्ने म्याद सकिनु एक दिन अघि ठेक्का रद्ध भएको थियो
कन्चनपुरबाट निर्वाचित सांसद विना मगर अहिले खानेपानी मन्त्री छिन् । उनको निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गत छुट्टिएको रकम मध्य ४९ लाख रुपैया लालझाडी गाँउपालिका वडा नं ६ अन्तर्गत चान्देव बजारदेखि हरियाली मार्ग कालोपत्रे गर्न विनियोजन गरिएको थियो । त्यस पछि गाँउपालिकाले १० लाख रुपैया थपिदिएको थियो ।
यो निर्माणको ठेक्का कन्चनपुरकै डिकेडिएस कन्सट्रक्सनलाई परेको थियो । त्यसका सञ्चालक देवेन्द्र खड्काका अनुसार जेष्ठ २० मा उक्त निर्माणको सम्झौता भएको थियो र असार १५ गते भित्र निर्माण सक्नु पर्ने भनिएको थियो ।
त्यसै अनुसार उनले दागंबाट रोडाहरु मगाएर केही गिटी बिच्छ्याउन पनि शुरु गरेका थिए तर उनलाई गाँउपालिका र वडा नं ६ का अध्यक्ष फुलाराम चौधरीले काम रोक्न भन्न थालिसकेका थिए करीब डेड साता अघि देखि नै । १५ गते निर्माण त त्यस कम्पनीले पनि गरिसक्ने स्थिति थिएन, तर त्यो ठेक्का अर्कै कारण देखाएर रद्ध गरियो १४ असारमा ।
कारण भनेको ईन्जिनियरीगं कन्सलटेन्सीले गलत डिपिआर दिएर अर्थात बढी मुल्याकंन गरेको पछि थाहा पाएर । यस बिषयमा मिर्मिरेले लालझण्डी गाँउपालिकाका ईन्जिनियर राम प्रसाद अवस्थीलाई सम्पर्क गर्दा उनले ठेक्का रद्ध गर्नुको कारण प्राविधिक कारण नै भएको बताएका थिए ।
गाँउपालिकाले टेन्डर रद्ध भएकै भोलीपल्ट डिकेडिएस कम्पनीलाई अहिले सम्म भएको खर्च भनेर ५ लाख रुपैया भुक्तानी १५ असारमै दिईयो । जब कि रद्ध भएको टेन्डरका लागि यसरी भुक्तानी दिने गरेको देखिदैन । सो कन्सट्रक्सनका सञ्चालक देवेन्द्र खड्काका अनुसार आफूले ५ लाख १३ हजार दाबी गरेकोमा पाँच लाख पाएको बताए । यो भुक्तानीको आधार के हो भनेर जानकारी लिन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढालाई सम्पर्क गर्दा साझँ उनको फोन उठेन ।
बुझिए अनुसार सो बाटोको काम कति भएको हो , भुक्तानी कति हुने भन्ने बिषयमा गाँउपालिकामा साझँ सम्म छलफल चलेको बुझिए पनि यसबारे बिस्तृत विवरण प्राप्त भईसकेको छैन ।
उपभोक्ता समिति गठनदेखि नै चलखेल !
असार १४ मा ठेक्का रद्ध हुनासाथ वडा अध्यक्ष फुलमान चौधरीका भाई रामकृष्ण चौधरीलाई उपभोक्ता समितिको अध्यक्ष बनाउने तयारी भएको थियो । तर उनी सुगम कन्स्ट्रक्सनका सञ्चालक पनि भएकाले कानुनतः उनलाई दिन नमिल्ने भए पछि राश शरण चौधरी भन्ने अर्को व्यक्तिलाई उपभोक्ता समितिको अध्यक्ष बनाईयो । अझ त्यस अघि स्थानीय शिक्षक लक्ष्मी प्रसाद उपाध्यायलाई समेत बनाउने प्रयास भएको थियो । तर शिक्षक रहेको भनेर उनलाई पनि पछि बनाईएको थिएन ।
चौधरीले कन्चनपुरको दुर्गम क्षेत्र रहेको र बाटोघाटो समेत नभएकाले बल्ल बल्ल आएको रकम बाटो बनाउनमै खर्च गर्न उपभोक्ता समिति बनाएर १० दिनमा काम सक्ने वडा अध्यक्षले बताए पनि अहिले काम सम्पन्न हुन सकेन ।
देशका विभिन्न भागमा संसद विकास कोष हाल निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम भनेर बाडिने अर्बौ रुपैया मध्य ठूलो हिस्सा यसरी नै बाँडचुड र असारे टालटुलमा सिद्धिने गरेको र कार्यकर्ता लालनपालनको बाटो बनेको गुनासो निरन्तर बढ्दो छ । यस बिषयमा थप फलोअप अर्को रिपोर्टमा प्रकाशित गरिने छ ।

