काठमाडौँ। संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बङ्गलादेशलाई अति कम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति हुने तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा बसेको ८१औँ महासभाको बैठकले उक्त निर्णय गरेको हो। संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अनुसार महासभाले प्रस्ताव नम्बर ८१/एल.८ पारित गर्दै तयारी अवधि बढाउने निर्णय गरेको छ।
यस निर्णयसँगै नेपालले स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारका लागि अतिरिक्त समय पाएको छ। नेपालले यस अवधिलाई उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण र आर्थिक–सामाजिक रूपान्तरणमा उपयोग गर्ने जनाएको छ।
साथै, सहज संक्रमण रणनीति (स्मुथ ट्रान्जिसन स्ट्राटेजी), सन् २०३० को दिगो विकास कार्यसूची र दोहा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ। यसबाट स्तरोन्नतिको प्रक्रिया सहज, दिगो र अपरिवर्तनीय हुने विश्वास लिइएको छ।
नेपाली नियोगले राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई निरन्तर सहयोग, ऐक्यबद्धता र समर्थनका लागि धन्यवाद व्यक्त गरेको छ।