साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ विन्दुमा पुगेको हो।
अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३०.७६ विन्दुमा पुगेको थियो। त्यसअघि सोमबार परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९.८२ विन्दुमा झरेको थियो।
बुधबार बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो।
यस दिन ३४८ कम्पनीका १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएका कम्पनीमध्ये बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। बुटवल पावर कम्पनीको सेयर मूल्य १०.६० प्रतिशतले बढेको छ। त्यस्तै, सुपर खुदी हाइड्रोपावरको ६.२६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ६.२२ प्रतिशत र युनियन हाइड्रोपावरको सेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ।
यस दिन कारोबारमा आएका कम्पनीमध्ये २४१ वटाको सेयर मूल्य बढेको छ भने ३५ वटाको घटेको छ। तीन कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, धलेम्दी हाइड्रोपावरको २८ करोड, बुटवल पावर कम्पनीको २६ करोड तथा अपी पावर र सोलु हाइड्रोपावरको १९/१९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
उपसूचकतर्फ ट्रेडिङ समूहबाहेक सबै समूहमा वृद्धि देखिएको छ। हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक २.०६ प्रतिशतले बढेको छ।