सकियो बगदादी आतंकको युग, अन्तिममा आफ्नै शरीरमा बम पड्काएर परिवार सहित आत्महत्या गरे

सकियो बगदादी आतंकको युग, अन्तिममा आफ्नै शरीरमा बम पड्काएर परिवार सहित आत्महत्या गरे

  • आइतवार, कार्तिक १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी कार्तिक १० । सिरीया ईराक सहित विश्वका धेरै देशमा ईस्लामिक स्टेटका नाममा युद्ध र आतंक मच्चाउदै आएको आईएसआईका कमाण्डर अबु बकर अल बग्दादीको अन्त्य भएको छ । अमेरीकी सेनाको कमाण्डो फोर्सको अप्रेसनका क्रममा उनको मृत्यु भएको अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।
आइतबार साँझ पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले बग्दादी शनिबार राती सिरियामा मारिएको पुष्टि गरे ।
पत्रकार सम्मेलनमा ट्रम्पले भने बग्दादीलाई अमेरिकी सैन्य कुकुरहरूले सुरूङभित्र लखेट्दै गएपछि उनले सुसाइड (बमजडित) भेस्ट पड्काएका थिए । सोही क्रममा उनका तीन सन्तानको समेत निधन भएको ट्रम्पले बताए । घटनामा दुई जना महिलाको पनि मृत्यु भएको छ जो उनका श्रीमती हुनसक्ने अनुमान गरिएको छ ।
राष्ट्रपति ट्रम्पले उत्तरी सिरियामा विशेष सैन्य अपरेशन गर्ने अनुमति दिएका थिए । सोही अपरेशन क्रममा अमेरिकी सैन्य विमान तथा हलिकप्टरले बग्दादी बसेको ठाउँमा आक्रमण गरेका थिए । आक्रमण क्रममा अमेरिकी सेनाहरू विमान तथा हेलिकप्टरबाट झरेर बग्दादी बसेको घरमा गोली हानेका थिए ।
यसपछि बग्दादी आफू बसेको ठाउँबाट आफ्ना तीन सन्तानसहित भागेर एउटा सुरूङभित्र छिरे । सुरूङ एकतर्फी मात्र भएकाले उनीहरू उम्किन सकेनन्। बग्दादीहरू सुरूङभित्र छिरेपछि अमेरिकी सेनाका कुकुरहरू पछिपछि लखेट्दै भित्र छिरेका थिए। भाग्न सक्ने अवस्था नभएपछि बग्दादीले आफ्नो शरीरमा लगाइराखेको सुसाइड भेस्ट पड्काउँदा उनीहरू मारिएको ट्रम्पले जानकारी दिएका छन्।
’बग्दादी डरपोक भएर मर्यो। अब संसार धेरै सुरक्षित महशुस भएको छ,’ ट्रम्पका भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ, ’बग्दादी पछिल्लो समय खुबै डराएको थियो। उसलाई अमेरिकी शक्तिले परास्त गर्छ भन्ने ठूलो डर थियो।’
ट्रम्पका अनुसार केही साताअघिदेखि नै बग्दादीमाथि नजर राखिएको थियो। आक्रमणमा मारिएका व्यक्ति बग्दादी नै हुन् भनेर पुष्टि गर्न अमेरिकी सेनाले ’ल्याब’ नै बोकेर गएको पनि बताइएको छ।

धेरै वर्ष लुकेर बसेका बग्दादीलाई यसै चिन्न सकिन्थेन। बग्दादीको सही पहिचान गर्न अमेरिकी सेनाले उनको डिएनए घटनास्थलमै लिएर गएका थिए। बग्दादी मारिएपछि त्यहीँ उनको डिएनए परीक्षण गरिएको थियो। यसरी मारिने व्यक्ति बग्दादी नै भएको ट्रम्पले पुष्टि गरेका छन्।
बग्दादी बसेको घरमा हमला गर्दा त्यहाँ भएका ११ जना केटाकेटीलाई सुरक्षित बाहिर निकालिएको पनि ट्रम्पले जनाएका छन्।
गत वर्ष रसियाली सेनाले आफ्नो आक्रमणमा बग्दादी मारिएको दाबी गरेको थियो। रसियाली सेनाको सो दाबीलाई गलत सावित गर्दै वैशाखमा बग्दादी एक भिडिओमार्फत सार्वजनिक भएका थिए ।
भिडिओमा उनले सिरियामा मारिएकाहरूको बदलाका रूपमा ८ देशमा दर्जनौं आक्रमण गरेको बताएका थिए । साथै सिरियामा गुमाएको भूभागको बदला लिने भनाइ राखेका थिए। उनी सन् २०१४ यता देखिएका थिएनन्। सार्वजनिक भएको भिडिओमा बागुजमा आफूहरू पराजित भएको उनले स्वीकार गरेका थिए।

संसारकै मोस्ट वान्टेड बगदादी

आइसिस प्रमुख बग्दादी संसारकै प्रमुख ’वान्टेड’ व्यक्ति थिए। सन् २०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्नेगरी सूचना दिनेलाई दश करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइसिसले लामो समयसम्म आतंकवादी गतिविधि चलाउँदै आएको थियो।

आइसिसले ६ महिनाअघि श्रीलंकाका विभिन्न ठाउँमा आक्रमण गरेको थियो जसमा २५९ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ४५ जना विदेशी थिए।

ओसामा बिन लादेनले नेतृत्व गरेको आतंकवादी समूह अलकाइदा कमजोर हुँदै गएपछि आइएसआईको प्रभाव बढ्दै गएको थियो।
अलकाइदाका प्रमुख लादेनलाई पाकिस्तानमा उनी लुकेर बसेको एउटा घरमा आक्रमण गरेर अमेरिकाले मारेको थियो ।

सन् १९७१ मा उत्तरी इराकमा जन्मिएका बग्दादीलाई आतंकवादी हमला र लडाइँमा चतुर रणनीतिकार मानिन्थ्यो। उनी सुरूमा सन् २०१० मा इराकमा अलकाइदाको नेताका रूपमा उदाएका थिए। पछि अन्य आतंकवादी समूहहरू मिलाएर उनले आइसिसको नेतृत्व सम्हालेका थिए ।
यसैबीच अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरीया, रुस, टर्की , ईराक र कुर्द लडाकुलाई धन्यवाद पनि दिएका छन् ।
यो घटनाका बिषयमा टर्की र अमेरीकाको बिदेश मन्त्रीहरुबीच टेलिफोनमा सूचना आदान प्रदान भएको टर्कीले जनाएको छ ।
यसैबीच आजै रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरीकी विदेश मन्त्री माईक पोम्पियोबीच पनि टेलिफोनमा सिरीया मामलाबारे छलफल भएको छ ।
छलफलमा बगदादीको बिषय र सिरीयाको सार्वभौम सत्ता र भौगोलिक अक्षुणताको बिषयमा कुरा भएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ