कार्तिक २ एजेन्सी । चिलीमा मेट्रो रेलको टिकटको मूल्य बढाइएको विरोधमा भएका प्रदर्शनहरू हिंसात्मक बनेपछि चिलीको राजधानी स्याटीएगोमा सङ्कटकाल घोषणा भएको छ ।
दशौ हजार विद्यार्थीहरुले नाराबाजी सहित भूमिगत रेल स्टेशनहरूमा आक्रमण गरेका, आगो लगाइदिएका थिए ।
प्रहरीले कैयौँ दिनदेखि मूल्यवृद्धिको विरोध गर्दै आएका केही प्रदर्शनकारीविरुद्ध अश्रुग्यास र लाठी प्रहार गर्दा पनि प्रदर्शन नियन्त्रण गर्न नसके पछि संकटकाल लागू गरिएको हो ।
चिली ल्याटिन अमेरिकाको धनी राष्ट्रमध्ये एक भएपनि यहाँ धनी र गरिबबीच ठूलो असमानता रहेको छ ।
खासगरि ६० लाख मानिस बसोबास गर्ने स्यानटियागोको महँगी विरुद्ध लामो समयदेखि आवाज उठ्दै आएको थियो ।
टेलिभिजनमा बोल्दै राष्ट्रपति सेबास्टियन पीनेराले सार्वजनिक र व्यक्तिगत सम्पत्ति सुरक्षा गर्न र कानुनको शासन कायम राख्न सङ्कटकाल लगाउनुपरेको जिकिर गरेका छन् ।
सङ्कटकाल लगाएपछि मानिसहरूको स्वतन्त्र आवागमन र भेला हुने अधिकार कटौती गर्न थालिएको छ ।
उनले सरकारले भाडा बढेर मर्कामा परेकाहरूसँग वार्ताका लागि आह्वान गरिने बताए । यो महिनाको सुरुतिर सरकारले उच्च आवतजावत हुने समयमा इन्धनको मूल्य बढेको र मुद्राको मूल्य घटेका कारण भाडा दर करिब १.१७ डलरले बढाएको थियो।
विरोध भएपनि अधिकारीहरूले भाडा बढाउने निर्णय फिर्ता नलिने बताएका छन्।
१४० किलोमिटर लम्बाइ भएको र १३६ वटा स्टेशन भएको स्यानटियागोको भूमिगत रेल प्रणाली ल्याटिन अमेरिकाको सबभन्दा आधुनिकमध्ये एक मानिन्छ ।