भारत प्रशासित कश्मीरमा अवरुद्ध मोबाइल सेवा ७२ दिनपछि सुचारु भएको छ । गत अगस्ट ५ मा विशेषाधिकार खारेज गर्ने निर्णयसँगै भारत सरकारले कश्मीरमा मोबाइल तथा ल्यान्डलाइन फोन र इन्टरनेट सेवा बन्द गरेको थियो ।
ल्यान्डलाइन टेलिफोन सेवा तथा आंशिक रूपमा इन्टरनेट यसअघि नै खोलेको भए पनि सरकारले सुरक्षाको कारण देखाउँदै मोबाइल सेवा बन्द राखेको थियो । तर सरकारले कश्मीरको सुरक्षा अवस्थामा अपेक्षित सुधार भएको उल्लेख गर्दै सोमबार मोबाइल सेवा सुचारु गरेको हो ।
सरकारले निर्णयसँगै करिब ४० लाख मोबाइल फोन पुनः सञ्चालनमा आएका छन् तर प्रिपेड मोबाइल फोन अझै बन्द रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कतिपय क्षेत्रमा अझै पनि इन्टरनेट सेवा बन्द नै छ । अधिकारीहरूले अघिल्लो महिनाबाट ८० प्रतिशत टेलिफोन चल्न थालेको बताए पनि भारत प्रशासित कश्मीरमा धैरै मानिसमा त्यसको पहुँच छैन ।