काठमाडौं ९ साउन ।
उत्तर कोरियाले दुई छोटो दूरीका मिसाइलहरु प्रक्षेपण गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले दाबी गरेको छ । उत्तर कोरियाको पूर्वी क्षेत्रमा रहेको वनसनबाट प्रक्षेपण गरिएको मिसाइलले करिब ४३० किलोमिटर पार गरेको च्यानल न्यूज एसियाले उल्लेख गरेको छ । उक्त मिसाइल इस्ट सीमा गएर खसेको बताइएको छ ।
उक्त मिसाइलले जापान प्रवेश नगरेको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन । जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्ने बारे रोकिएको वार्ता फेरि सुचारु गर्ने सहमति भएपछि यो पहिलो मिसाइल परीक्षण हो ।
उक्त प्रक्षेपणका बारेमा अमेरिकाले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । फेब्रुअरीमा हनोई वार्ताका क्रममा किमले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न राखेको प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पले अस्वीकार गरेका थिए । प्रतिबन्ध हटाउने विषयमा सहमति नभएपछि बिना कुनै सहमति वार्ता टुंगिएको थियो ।
गत वर्षको जुन महिनामा सिंगापुरमा भएको पहिलो शिखर वार्ताका क्रममा दुई नेताबीच कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक निःशस्त्रीकरण गर्ने सहमति भएको थियो । यस्तै उत्तर कोरियामाथि लगाइएका प्रतिबन्धहरु फुकुवा गर्नेसमेत सहमति भएको थियो । तर, पछि दुवै राष्ट्रले एकअर्कासँग गरेको सहमति पालना नगरेको आरोप लगाउँदै आएका छन् ।