एजेन्सी, साउन ४ ।
अफ्रिकी मुलुक कङ्गो पछिल्ला दिनमा प्राणघातक इबोला भाइरसको चपेटामा परेको छ । भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ । घातक इबोला भाइरसले अफ्रिकामा सन् १९७६ मा पनि हजारौंको ज्यान लिएको थियो।
पटकपटक अफ्रिकी महादेशलाई सताउँदै आएको इबोला भाइरस पछिल्लो समय कङ्गोमा व्यापक रुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोलाको पछिल्लो संक्रमणलाई तत्काल सम्बोधन गर्नुपर्ने स्वास्थ्य समस्या भन्दै ’विश्व स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ।
इबोला संक्रमित व्यक्तिको मृत्यु हुने सम्भावना करिब ५० प्रतिशत रहेको डब्लुएचओको भनाई छ। जंगली जनावरबाट मानिसमा सर्ने यो भाइरस ज्यादै संक्रामक हुने भएकाले यसलाई नियन्त्रणमा ल्याउन निकै कठिन हुन्छ ।
यो भाइरस इबोला भएका मानिसलाई छोएमा वा सम्पर्कमा आएमा अर्को मानिसमा अझ तीब्र गतिमा सर्दछ। संक्रमित व्यक्तिको रगत, शरीरका अन्य तरल पदार्थ, शरीर वा शरीरका अरु अंगबाट निस्कने वस्तु सोझै छोएमा पनि यो रोग सर्दछ।
इबोला संक्रमित व्यक्तिलाई २ देखि २१ दिनको अवधिमा मात्र उच्च ज्वरो आउने, शरीर थकित हुने, मांसपेशी र जोर्नी दुख्ने, टाउको दुख्ने र घाँटीमा असजिलो हुने जस्ता लक्षण देखा पर्दछ । साथै, झाडावान्ता हुने, छालामा घाउहरु देखिने, मृगौला र कलेजोले काम नगर्ने तथा शरीरको भित्री भागमा रक्तस्राब हुने डब्लुएचओले जनाएको छ।
उपचार गरी कुनै इबोला पीडित व्यक्ति स्वस्थ भए पनि आजीवन त्यस्ता व्यक्तिमा आर्थराइटिस हुने, आँखाको दृष्टि कमजोर हुने, आँखा सुन्निने तथा सुन्ने क्षमता कमजोर हुने गर्दछ।