एजेन्सी जेठ ३२ ।
हङकङमा केही दिन यता चर्किएको विरोध प्रदर्शनका कारण सरकारले विवादास्पद विधेयक निलम्बन गर्ने निर्णय गरिएको छ ।
प्रमुख कार्यकारी क्यारी लामले आज प्रस्तावित विधेयक अनिश्चितकालका लागि निलम्बन गरिएको घोषणा गर्नुभएको हो । उहाले कानुनविद तथा विज्ञसँग परामर्श गरेपछि यस्तो निर्णय लिएको बताउनु भएको छ ।
समाचार एजेन्सीहरुका अनुसार उक्त विधेयक अघि बढाउनेबारे सरकारले कुनै समयसीमा राखेको छैन । यो वर्ष सो विधेयकका बारेमा कुनै निर्णय नहुने सरकारी स्रोतलाई उद्धृत गर्दै विविसीले जनाएको छ । प्रमुख कार्यकारी लामले हङकङमा देखिएको संकट समाधान गर्न यस्तो निर्णय लिएको बताउनु भयो । उहाले विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरुप्रति सहानुभूति प्रकट गर्दै ‘निकै दुःखीत भएको बताउनु भएको छ ।
सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा हङकङका केही दिन यता हजारौं नागरिकले प्रदर्शन गर्दैै आएका थिए । हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था प्रस्तावित विधेयकमा थियो । सोही व्यवस्थाको विरोध गर्दै प्रदर्शन भएको हो ।
प्रदर्शनीमा व्यवसायी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक नेता तथा लोकतन्त्र पक्षधर सहभागी थिए । यो प्रदर्शन सन् २०१४ को अम्रेला मुभमेन्ट पछिकै विशाल भएको बताइएको छ ।