एजेन्सी, जेठ ७ ।
हास्य कलाकार भोलोडिमायर जेलेनस्कीले आज युक्रेनको राष्ट्रपतिका रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । अप्रिल २२ मा निवर्तमान राष्ट्रपति पेट्रो पोरोसेनकोलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वा्चित हुन भएका जेलेनस्कीले आज सपथ ग्रहण गर्नु भएको हो ।
टेलिभिजनमा राष्ट्रपतिको भूमिकामा अभिनय गर्दै आएका जेलेनस्की निर्वाचनबाटै राष्ट्रपति नै बन्न सफल हुन भएको हो । राष्ट्रपतिका रुपमा सपथ लिए लगत्तै उहाँले संसद विघटन गर्दै दुई महिना भित्र नयाँ निर्वाचन गराउने घोषणा गर्नु भएको छ ।
राष्ट्रपति निर्वाचनका क्रममा गरेको वाचा अनुसार उहाँले संसद विघटन गर्ने निर्णय गरेको बताइएको छ । यद्यपि संसद विघटन गर्ने निर्णयलाई सांसदहरुले चुनौती दिन सक्ने बुझिएको छ । संसद विघटन गर्न राष्ट्रपतिले सांसदहरुसँग छलफल गरेर कानून जारी गर्नुपर्छ ।
सपथ कार्यक्रममा बोल्दै जेलेनस्कीले रोनाल्ड रेगनले भनेझै विद्यमान समस्याहरुको समाधान सरकार नभएर वास्तवमा सरकार नै समस्या भएको बताउनुभयो । जेलेनस्कीले सरकारमा रहेका मन्त्रीहरुले परिवर्तनका लागि काम गर्न नसके राजीनामा दिन समेत आग्रह गर्नु भएको छ ।
सम्बोधन गर्दै उहाँले आफ्नो फोटो सरकारी कार्यालयहरुमा नराख्न समेत निर्देशन दिनुभयो । जीवनभर युक्रेनी जनतालाई हसाउँदै आएको बताउँदै उहाँले अब युक्रेनीहरुलाई रुनबाट रोक्न आफूले प्रयास गर्ने बताउनुभयो ।