नयाँ दिल्ली, जेठ ५ ।
भारतमा आइतबार लोकसभा निर्वाचनअन्तर्गत सातौं अन्तिम चरणको मतदान भइरहेको छ । तर उक्त मतदानको अद्दिल्लो रात अर्थात शनिवार रातभर प्रधानमन्त्री नरेन्द्र मोदी गुफामा बसेका छन् ।
अन्तिम चरणमा विभिन्न राज्यका ५९ लोकसभा सिटका लागि मतदान हुँदैछ । आज भइरहेको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदीको समेत भाग्य फैसला हुने छ । उनी उम्मेदवार रहेको वाराणसी क्षेत्रमा पनि आजै मतदान हुँदैछ ।
मोदी भने शनिबारदेखि तीर्थयात्रामा छन् । बद्रीनाथ, केदारनाथ धामको तीर्थ यात्रामा रहेका उनी आइतबार दिउँसो दिल्ली फर्कने कार्यक्रम छ । शनिबार मोदीले केदारनाथको दर्शन गर्नुका साथै केहीबेर पूजासमेत गरेका थिए ।
शनिबार साँझ उनी करिब दुई किलोमिटर पैदल हिँडेर केदारनाथ नजिकैको एक गुफामा पसे । उनी रातभर सोही गुफामा रहेर ध्यान गरेको बताइन्छ ।
समाचार एजेन्सीहरुका अनुसार चुनावी प्रचार तथा दौडधुपबाट थकित भएका उनले ध्यान गरेका हुन् । कतिपयले उनको तीर्थ यात्रा र गुफाको बसाइलाई चुनाव प्रचारकै हिस्सा मानेका छन् । हिन्दू मतदाताको विश्वास आर्जन गर्न उनले धर्मकर्ममा आफूलाई केन्द्रीत तुल्याएको उनीहरुको तर्क छ ।
गुफाभित्र करिब १२ घण्टा बिताएका मोदी आइतबार बिहान बाहिर निस्किएका छन् । दोस्रो कार्यकाल सरकारको नेतृत्व गर्ने अभिलाषा बोकेका मोदीका लागि चुनाव परिणाम अनुकुल हुने हो या होइन भन्ने प्रष्ट भइसकेको छैन ।