१२ वैशाख, काठमाडौं । उत्तर कोरियाली नेता किम जोन उन र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रसियाको सुदूर पूर्वी शहर भ्लादिवोस्तोक नजिकैको रस्की टापुमा शिखर वार्ता भएको छ ।
उनीहरुबीच कोरियाको आणविक निशस्त्रीकरणबारे छलफल भएको छ । वार्ताका क्रममा दुई नेताले आपसी सम्बन्ध अझै प्रगाढा बनाएर अघि बढ्ने बताएका छन् ।
रसियाली राष्ट्रपति पुटिनले कोरियाको तनाव हटाउन आफूले सहयोग गर्ने किमलाई बताए । उनले किमको रसिया भ्रमणका क्रममा कोरियाली प्रायद्विपको समस्या समाधानबारे राम्रोसँग बुझ्न सकिने र हाल चलिरहेको प्रक्रियामा रसियाले कसरी सकारात्मक सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल गर्न सकिने बताएक छन् ।
यस्तै किमले रसियासँग घनिष्ट र दिगो सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध अझै विकसित गर्न यो वार्ता निकै फलदायी हुने विश्वास व्यक्त गरे । आफ्नो पहिलो भेटमा किम र पुटिन दुबैले होसो सहित वार्तास्थल युनिभर्सिटी क्याम्पस बाहिर हात मिलाएको देखिएको छ ।
यसअघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पसँग पनि कोरियाली निशस्त्रीकरणबारे छलफल गरेका थिए । तर ट्रम्पसँगको दोस्रो वार्ता असफल भएपछि उनले रसियाली राष्ट्रपतिसँग वार्ता गरेका छन् ।