२६ फागुन, काठमाडौं । भारतमा सत्रौं लोकसभाको निर्वाचन घोषणा भएको छ। चुनावको मतदान सात चरणमा हुने भएको छ । ११ अप्रिलबाट सुरु हुने मतदान १९ मेमा सकिनेछ र २३ मे बाट मत गणना सुरु हुनेछ ।
भारतीय चुनाव आयोगले आइतबार पत्रकार सम्मेलन गरी आच चुनावको तालिका सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त सुनील अरोडाले आइतवार साँझ यसको घोषणा गरेका छन्।
पहिलो चरणको चुनाव ११ अप्रिल, दोस्रो चरणको १८ अप्रिल, तेस्रो चरणको २३ अप्रिल, चौथो चरणको २९ अप्रिल, पाँचौ चरणको ६ मे, छैटौं चरणको चुनाव १२ मे र सातौं चरणको चुनाव १९ मेमा हुनेछ। २३ मेदेखि मतगणना शुरु हुने आयुक्तले बताएका छन्।
उम्मेदवारको पहिलो पहिलो चरणको नामांकन १८ मार्चमा हुनेछ भने अन्तिम नामांकन २५ मार्चमा हुनेछ। उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारबाही गरिने स्पष्ट पारेका छन्। आयोगले ९९.३६ प्रतिशत मतदातासँग फोटोसहितको मतदाता परिचयपत्र रहेको जनाएको छ। वर्तमान लोकसभाको कार्यकाल ३ जूनमा समाप्त हुँदै छ। लोकसभाका ५४३ सिटमा चुनाव हुनेछ। निर्वाचन आयोगले राति १० बजेदेखि बिहान ६ बजेसम्म लाउडस्पिकर प्रयोग गर्न नपाइने जनाएको छ।
पहिलो चरणमा २० राज्यका ९१ सिटमा, दोस्रो चरणमा १३ राज्यका ९७ सिटमा, तेस्रो चरणमा १४ राज्यका ११५ सिटमा, चौथो चरणमा ९ राज्यका ७१ सिटमा, पाँचौं चरणमा ७ राज्यका ५१ सिटमा, छैटौं चरणमा ७ राज्यका ५९ सिटमा र सातौं चरणमा ८ राज्यका ५९ सिटमा चुनाव हुनेछ।