एजेन्सी, फागुन २१ ।
भारत र पाकिस्तानबीचको द्धन्द अझै जारी छ । गत बुधवार मात्रै पाकिस्तानले भारतको लडाकु विमान नै ध्वस्त पारिदियो ।
यी दुई मुलुकबीचको शत्रुता अझ बढीरहेको अवस्थामा भारतले अमेरिकालाई आफ्नो ठूलो सहयोगी मुलुकका रुपमा व्याख्या गर्दै आएको छ ।
खासगरी पाकिस्तानसँगको तनावका बारेमा आफूसँग अमेरिकी समर्थन प्राप्त रहेको दलिल भारतले प्रस्तुत गर्दैआएको छ । अन्य विषयमा भारत–अमेरिका सम्बन्ध सुमधुर रहे पनि आर्थिक कारोबारमा अमेरिकाकाको एक निर्णयले भारतलाई ठूलो धक्का लागेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘जनरलाइज्ड अफ प्रेफरेन्सेज’ (जीएसपी) कार्यक्रमको लाभ पाउने सूचीबाट भारतलाई हटाएका छन् । सोमबार अमेरिकी संसदलाई आफ्नो निर्णयबारे उनले जानकारी गराए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो निर्णयले भारतको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने अनुमान गरिएको छ । यो कार्यक्रम अन्तर्गत भारतीय उत्पादनमा अमेरिकाले कुनै प्रकारको आयात शुल्क लगाउने गरेको थिएन । यो सुविधा अनुसार भारतले ५.६ अर्ब डलर बराबरको सामान अमेरिका निर्यात गर्दै आएको थियो ।
भारतमा आम निर्वाचन नजिकिएको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पको यो निर्णयले मोदी सरकारको लोकप्रियतामा पनि नकारात्मक प्रभाव पर्ने देखिन्छ । चुनावकै सेरोफेरो अर्थतन्त्रमा नकारात्मक सूचक देखा पर्न थाल्ने हो भने विपक्षी दलहरुले मोदी सरकारलाई सोही विषयलाई आधार बनाएर आलोचना गर्ने निश्चित छ ।