एजेन्सी, १५ फागुन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तररिय बैठक बोलाएका छन् । भारतीय वायु सेनाको दुई वटा विमान आक्रमण गरेर खसाएको पाकिस्तानको दाबी लगत्तै मोदीले बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवासमा अहिले बैठक बसिरहेको भारतीय सन्चार संस्था आज तकले जनाएको छ ।
अहिले पनि भारत पाकिस्तान सिमामा तनाव जारी छ । जबमु पठानकोट नेसनल हाईवे बन्द गरिएको छ । उक्त स्थानमा पन्जाव पुलिसलाई हटाएर सेना तैनाथ गरिएको पनि जनाईएको छ । माधपपुर बोर्डरमा सेना परिचालन गरिएको बताईएको छ ।
भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा बिमानका दुई पाइलटको मृत्यु भएको बताईएको छ ।
मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खस्यो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ । अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।
उता पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गरेका दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेका हुन् ।