२६ मंसिर, काठमाडौं । पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हारजीत जिन्दगीको हिस्सा भएको प्रतिकृया दिएका छन् । बहुमतसहित केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले अघिल्लो निर्वाचनको तुलनामा १८५ सिट गुमाएपछि उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ‘म कार्यकर्ताको मिहनेतलाई सलाम गर्छु’, ‘हारजीत जिन्दगीको हिस्सा हो ।’
विधानसभा चुनावमा आफ्ना कार्यकर्ताले दिनरात मिहिनेत गरेको भन्दै उनले जनताको म्यान्डेट स्विकार्य भएको बताए । मोदीले ट्विटरमा भनेका छन्, ‘हामी जनताको म्यान्डेट विनम्रतापूर्वक स्विकार गर्दछौं ।’
२०१३ को निर्वाचनमा बहुमत दिएकोमा छत्तीसगढ, मध्यप्रदेश र राजस्थानका जनतालाई धन्यवाद भनेका छन् । तीनवटै राज्यमा आफ्नो पार्टीको सरकारले अथक रुपमा जनताको काम गरेको उनको भनाइ छ ।
मध्यप्रदेशमा ५७, राजस्थानमा ९० र छत्तीसगढमा ३४ सिट गुमाएको भाजपा तीन वटै राज्यमा दोस्रो ठूलो दल बनेको छ । अघिल्लो चुनावमा पाँच सिट जितेको तेलंगनामा भाजपाले एक सिट मात्रै जितेको छ भने मिजोरममा पहिलो पटक एक सिट जित्न सफल भएको छ ।
अर्को ट्विट गर्दैै मोदीले विजय भएकोमा कांग्रेसलाई पनि बधाई दिएका छन् ।