भारतका सामाजिक कार्यकर्ता वरवर रावलाई पुणे प्रहरीले पक्राउ गरेको छ । हैदरावादमा रहेको घरबाट नै रावलाई पक्रेर लगेको उनको परिवारका सदस्यले पुष्टि गरेका छन् । रावलाई प्रहरीले शनिबार राति ११ बजे विमान मार्फत पुणे लगेको छ ।
रावलाई गएको अगस्ट २९ देखि उनको घरमै नजरबन्दमा राखिएको थियो । रावका वकिलले हैदरावाद उच्च अदालतमा पुणे प्रहरीले जारी गरेको ट्रान्जिट वारेन्टमाथि चुनौती दिएका थिए ।
मराठीमा रहेका कारण वारेन्ट रद्द गर्नु पर्ने वकिलको माग थियो । अदालतले उनको माग अस्वीकार गरेपछि प्रहरीले रावलाई शनिबार राति पक्राउ गरेको हो ।
पुणे प्रहरीले जारी गरेको वारेन्टको मिति शुक्रबार बेलुका नै सकिएको र शनिबार रावलाई पक्राउ गर्न आएको प्रहरीसँग वारेन्ट नरहेकाले रावको पक्राउ गैरकानुनी रहेको परिवारका सदस्यले बताएका छन् ।
गएको जनवरीमा महाराष्ट्रको भीमा–कोरेगाउँमा भएको हिंसालाई लिएर पाँचजना सामाजिक कार्यकर्तालाई प्रहरीले पक्रेको थियो ।
पक्राउ पर्नेमा वरवर राव पनि थिए । उनीसँगै सुधा भारद्वाज, गौतम नवलखा, वरनान गोन्जाल्विस र अरुण फरेरालाई प्रहरीले पक्रेको थियो । रावको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिइएको थियो, जसका कारण उनलाई घरमै नजरबन्दमा राखिएको थियो ।
७८ वर्षका राव पावन्थी विचारमा झुकाव राख्ने तेलुगू भाषाका कवि तथा लेखक हुन् । उनी रिभुल्यूसनरी राइटर्स एसोसिएसनका संस्थापक पनि हुन् ।
उनले राज्यमा माओवादी हिंसा अन्त्यका लागि चन्द्रबाबु नायडू सरकार र माओवादी नेता गुम्माडी विट्ठल रावको वार्ताका लागि मध्यस्थता गरेका थिए ।
रावसहितका सामाजिक कार्यकर्ताको गिरफ्तारीको चौतर्फी आलोचना हुँदै आएको छ ।
नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारले आफ्ना विरोधी आवाज दबाउनका लागि सामाजिक कार्यकर्ताको मुख बन्द गर्ने उपायको रुपमा गिरफ्तारी रहेको भन्दै आलोचना हुँदै आएको छ । देशसन्चार