एजेन्सी, मंसिर २ ।
अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन दिएको बताएको छ ।
साउदी अरेबियाले भने योे दाबीलाई झुठो भन्दै आइरहेको छ । अमेरिकी गुप्तचर निकायले घटनाको विस्तृतमा अध्ययन गरेको थियो । अधिकारीहरुले यस किसिमको अभियानका युवराजको अनुमति आवश्यक भएको बताएका छन् ।
खशोग्गीले काम गरेको पत्रिका द वासिङ्टन पोष्टले सीआईएको मूल्यांकन आंशिक रुपमा साउदी युवराजका भाइ खालेद बीन सलमानको फोनको कुराकानीमा आधारित रहेको जनाएको छ ।
खालेद बीन सलमान अमेरिकाका लागि साउदी राजदूत रहेका छन् । आफ्ना दाइको निर्देशनमा खालेदले खशोग्जीलाई फोन गरी महावाणिज्य दूतावास जान सुरक्षित रहेको भनी आश्वासन दिएको आरोप उनीमाथि लगाइएको छ ।
यसैबीच साउदी अरेबियामा रहेका खालेदले आफू करिब १ वर्षयता खशोग्गीसँग सम्पर्कमा नरहेको ट्वीटर सन्देश जारी गरेका छन् । ह्वाइट हाउस र अमेरिकी विदेशमन्त्रालय दुवैले त्यस्ता खबरहरूबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।
तर स्रोतहरूका अनुसार केन्द्रीय गुप्तचर निकायको निष्कर्षहरूबारे भने दुवैलाई सुचित गरिसकिएको छ । अमेरिकी ट्रम्प प्रशासनले गएको हप्ता खसोग्गीको हत्यामा सम्लग्न रहेको आरोपमा १७ जना साउदी अरबका अधिकारीहरूलाई सजाय दिइसकेको छ ।
साउदी पत्रकार खशोग्जीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको थियो । उनको शव अझै फेला परेको छैन । टर्कीले हत्याका लागि उच्च तहहरूबाट निर्देशन आएको दाबी गर्दै आएको छ ।