एजेन्सी, असोज ९ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको दोस्रो भेटवार्ता चाँडै हुने बताउनु भएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग न्यूयोर्कमा भएको भेटपछि बोल्दै उहाँले उत्तर कोरियासँगको सम्बन्धमा धेरै प्रगति भएको बताउनु भयो । उहाँो उत्तर कोरियासँगको सम्बन्ध अन्त्यन्त राम्रो भएको र केही हदसम्म असाधारण रहेको उल्लेख गर्नूभयो ।
यसअघि संयुक्त राष्ट्रसघको मुख्यालय न्यूयोर्कमा बोल्दै उहाँले किमसँग निकट भविष्यमा हुने अर्को भेटवार्ताको व्यवस्था विदेशमन्त्री माइक पोम्पोओले गर्ने बताउनु भएको थियो । तर स्थानको विषय भने निश्चित नभएको ट्रम्पको भनाइ थियो ।
दक्षिण कोरियाली राष्ट्रपति मुन तीन दिने प्योङयाङ भ्रमणपछि ट्रम्पलाई भेट्न अमेरिका पग्नु भएको हो । अमेरिका र उत्तर कोरियाको सम्बन्ध सुधारमा उहाँले महत्वपूर्ण भूमिका निभाउँदै आउनु भएको छ ।
किमले कोरियाली प्रायद्विपको छिटो पूर्ण निःशस्त्रीकरण गर्दै मुलुकको आर्थिक विकास चाहेको मुनको भनाइ छ । गत जुनमा ट्रम्प र किमबीच ऐतिहासिक सिंगापुर शिखर सम्मेलनपछि दुई मुलुकको सम्बन्धले नयाँं मोड लिएको छ । सम्मेलनमा कोरियाली प्रायःद्विपको पूर्ण निःशस्त्रीकरणका विषयमा महत्वपूर्ण सहमति भएको थियो ।