काठमाडौँ, ९ वैशाख ।
कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार एमाले–माओवादी केन्द्रले संयुक्त कार्यक्रम गर्दै छन् ।
यसअघि आजकै दिनमा पार्टी एकता गर्ने सहमति गरेका एमाले –माओवादीले तत्काल एकता नहुने भएपछि संयुक्त कार्यक्रम गर्न लागेका हुन् । एकताको सन्देश दिने र कार्यकर्तामा रहेको अन्योल चिर्ने उद्देश्यसहित अपराह्न राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा मनाउन लागेका हुन् ।
राष्ट्रियसभा गृहमा मध्यान्ह १२ बजे हुने कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ ।
एकता टरेको नभई तयारी नपुगेर केही समयपछि सरेको भन्ने सन्देश दुईपार्टीका शिर्ष नेताले कार्यक्रम मार्फत दिन खोजेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारीदिनुभयो ।
गत असोज १७ मा एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसद्मा बहुमत हासिल गरी नयाँ सरकारसमेत बनाइसकेका एमाले र माओवादी केन्द्र एकताबाट पछि हट्न नसक्ने दुबै दलका नेताले पटक÷पटक जनाउँदै आएका छन् ।
स्थिर सरकार, सुशासन र विकासको लक्ष्यसहित निर्वाचनलगत्तै एकता गर्ने प्रतिबद्धता चुनावी घोषणापत्रमा भएको र त्यसलाई कार्यकर्ता र जनताले अनुमोदन गरिसकेकाले यसबाट पछि हट्न नमिल्ने विश्लेषकहरुको पनि बुझाइ छ ।
दुई दलबीच नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित संगठन र नेता रामबहादुर थापा बादलको संयोजकत्वमा रहेको वैचारिक कार्यदलले तयार गरेको अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदनलाई अन्तिमरुप दिन यही वैशाख ४ गतेको एकता संयोजन समितिको बैठकले अध्यक्ष ओली र दाहाललाई जिम्मेवारी दिएको थियो ।
ओली र दाहालले मिल्न बाँकी विषय मिलाएर समितिको बैठकमा पेश गरेपछि एकता घोषणाको मिति तय हुने नेताहरुले जनाएका छन् । तरदुईअध्यक्षबीच पटक पटक भएका गोप्य वार्ताहरुनिश्कर्षबिहिन बन्दै गएका छन् ।
आज पनि ओली र प्रचण्डबीच अनौपचारक वार्ता हुने प्रचण्डका प्रेश संयोजक बिष्णु सापकोटाले जानकारी दिनुभयो ।
यसैबीच राणा शासन विरोधी आन्दोलनका समयमा विसं २००६ वैशाख १० मा पुष्पलालको नेतृत्वमा भारतको कलकत्तामा नेकपाको स्थापना भएको थियो । सोहि दिनलाई नेपालका कम्युनिष्ट पार्टीहरुले नेकपाको स्थापना दिवश मनाउनेगर्दछन् ।
निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ नेकपाका संस्थापक हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, राष्ट्रिय स्वाभिमान र हितको रक्षाका साथै कम्युनिस्ट तथा वामपन्थी शक्तिले स्थापनाकालदेखि लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका लागि पहरेदारीको काम गर्दै आएको जनाउँदै आएका छन् । तर कम्युनिष्ट घटक विभाजित हुँदा अस्थिरता र अराजकता देखा पर्दैआएको थियो ।