काठमाडौं, बैशाख १ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र न्यायपालिका र लोकतान्त्रिक विधिको शासन कडाइका साथ लागू गर्ने घोषणा गर्नुभएको छ ।
नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन मुगुका पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहीँबाट देशवासीका नाममा सम्बोधन गर्दै अहिले नक्कली शासकहरुले शासन गर्न खोजेको भन्दै त्यसको अन्त्य गरी विधिको शासन कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समानान्तर सत्ता सञ्चालनको अभ्यास गरिरहेको नेपाल कम्युनिष्ट पार्टीतर्फ संकेत गर्दै ओलीले अहिले नक्कली शासकहरुले पनि मुलुकमा शासन गर्न खोजीरहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले आत्मविश्वासको कमी र केही बेथितीहरु हुँदा मुलुकले विकासमा फड्को मार्न नसकेको भन्दै त्यस्ता समस्यालाई सरकारले समाधान गर्ने बताउनुभयो ।
नेपाल साधन र स्रोतको धनी रहेको भन्दै उहाँले अब कुनै पनि हालतमा विकासमा पछि फर्कने अवस्था नरहेको बताउनु भयो ।
भ्रष्टाचार अन्त्य गर्नका लागि ऐनकानुनमा सुधार ल्याउने भन्दै प्रधानमन्त्री ओलीले विकासको गतिलाई असाधारणरुपमा अघि बढाउने उद्घोष गर्नुभयो ।
सन् २०३० सम्म मुलुकलाई दिगो विकासको लक्ष्यमा र्पुयाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले महत्वाकांक्षी योजना र आकांक्षा विना फड्को मार्न नसकिने बताउनु भयो । त्यसका लागि उत्पादनलाई बढवा दिनुपर्ने उनको भनाइ छ ।
नैतिक आचारण शुरु गराउने प्रतिबद्धता जनाउदैँ प्रधानमन्त्री ओलीले भन्नुभयो , त्यसको शुरुआत आफू र आफू नेतृत्वको मन्त्रिपरिषद्बाट गर्छु ।
अब देशका कुनै पनि नागरिक भोकै मर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले कृषिलाई उच्च प्राथमिकता राखिने बताउनुभयो।
लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्दै प्रधानमन्त्री ओलीले छिमेकी तथा अन्तर्रा्ष्ट्रिय मित्रहरुसँग विकासमा हातेमालो गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
लगानी गर्दा आउने कुनै पनि अदालती तथा प्रशासनिक अवरोधहरुको सामना गर्नु नपर्ने उहाँको भनाइ थियो ।
जलस्रोत तथा उर्जाको विकासलाई सरकारले प्राथमिकता दिने बताउनदै उहाँले रेल तथा जलमार्गको विस्तृत खाका सरकारको आगामी नीति तथा कार्यक्रममा ल्याउने घोषणा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले गर्ने सकारात्मक कामलाई सहयोग गर्न सबै राजनीतिक दलहरुलाई आह्वान पनि गर्नुभयो ।